कम्युनिष्ट आन्दोलनको सात दशक: स्थापनाको आदर्शदेखि आजको सत्ता-दम्भ र अवसानसम्म
346 पटक पढिएको
- केशव अधिकारी
काठमाडौँ | २७ फागुन । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुँदा जति ठूलो त्याग, तपस्या र बलिदानको जग थियो, आज सात दशकपछि आइपुग्दा त्यो आन्दोलन त्यत्तिकै ठूलो अहंकार, विग्रह र सत्ता-लालसाको दलदलमा फसेको छ। २००६ सालमा पुष्पलाल श्रेष्ठको अगुवाईमा स्थापना भएको यो आन्दोलनले आज ‘नेकपा’ र ‘एमाले’ को नाममा निर्वाचनको मैदानमा जुन लज्जास्पद हार व्यहोरेको छ, त्यो केवल एउटा चुनावी परिणाम मात्र होइन, बरु यसले कम्युनिष्ट आन्दोलनको एक युगको अवसान भएको संकेत गरिरहेको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अगुवाईमा २२ भन्दा बढी साना दल र समूहलाई एकीकृत गरी ‘तारा’ चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको नयाँ ‘नेकपा’ मोडल पूर्णतः असफल भएको छ। निर्वाचनको परिणामले ‘नेकपा’ नाम मात्रैको ठूलो भएको पुष्टि गरिदिएको छ। अघिल्लो आम निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ७५ हजारभन्दा बढी मत प्राप्त गरेको थियो, तर यसपटक २२ दलको मोर्चाले करिब ७ लाख मतमा खुम्चिएर ७ प्रतिशतको हाराहारीमा चित्त बुझाउनु परेको छ। प्रत्यक्षतर्फ ७ सिटमा सीमित हुनु र अधिकांश प्रदेशमा शून्य हुनुले ‘ठूलो पार्टी’ बनाउने नेतृत्वको दाबीलाई जनमतले ठाडै अस्वीकार गरिदिएको छ।
कम्युनिष्टहरूको यो दुर्गति हुनुको मुख्य कारण नेतृत्वमा हावी भएको चरम अहंकार, दम्भ र घमण्ड नै हो। जनताका आधारभूत समस्या, महँगी र भ्रष्टाचारभन्दा पनि केवल सत्ताको लुछाचुँडी, पदको बाँडफाँट र ‘हामी नभए देशै चल्दैन’ भन्ने नेतृत्वको दम्भलाई मतदाताले यसपटक मतपत्रमार्फत जवाफ दिएका छन्। एमालेभित्रको आन्तरिक विद्रोह र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट जनमतलाई आफ्नो पक्षमा पार्ने दाउपेचमा रहेका नेताहरू आफैँ पराजित हुनुले नेतृत्वको आत्मकेन्द्रित सोचलाई उदाङ्गो पारिदिएको छ।
त्यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘सर्वज्ञाता’ हुने भ्रम र ‘अरू सबै अज्ञानी’ भन्ने घमण्डले पार्टीलाई वैचारिक बहसबाट विमुख गराएर ‘ओली-केन्द्रित क्लब’ मा परिणत गर्यो। काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) सँगको एमाले नेतृत्वको सम्बन्ध विग्रनु र उनलाई गर्ने गरिएको प्रतिशोधको व्यवहारले युवा पुस्तालाई एमालेबाट पूर्णतः विमुख बनायो। बालेन जस्ता जन प्रतिनिधिहरूसँगको अनावश्यक जुहारीले एमालेलाई ‘पुरानो र असहिष्णु’ दलको रूपमा जनताले बुझ्न थालेका छन्।
यस निर्वाचनको सबैभन्दा रोचक र विष्फोटक दृश्य धादिङमा देखियो। २०४८ सालदेखि निरन्तर संसदीय राजनीतिमा हाबी रहेका, संघीय मन्त्री र बागमती प्रदेशको मुख्यमन्त्रीसम्म बनेका नेता राजेन्द्र पाण्डे आफ्नै गढमा तेस्रो स्थानमा खुम्चिनु एउटा सामान्य हार होइन, यो राजनीतिक युगको अन्त्य हो। राजनीतिसँग कुनै साइनो नभएकी आसिका तामाङले पाण्डे जस्ता ‘हेभीवेट’ नेतालाई भारी मतान्तरले पराजित गर्नुले परम्परागत दलहरूप्रति जनताको आक्रोश कुन तहसम्म पुगेको छ भन्ने प्रष्ट पारेको छ। पाण्डे तेस्रो स्थानमा झर्दा नेतृत्वको अहंकारको उचित सजाय जनताले दिएको प्रष्ट हुन्छ।
प्रचण्ड–माधवको यो प्रयोगले पूर्व नेकपा (एकीकृत समाजवादी) र माओवादी समूहलाई सबैभन्दा ठूलो क्षति पुर्याएको छ। माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावल जस्ता कम्युनिष्ट आन्दोलनका हस्तीहरू सम्मिलित यो समूह अहिले अस्तित्वको संकटमा छ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम जस्ता प्रदेशमा पार्टी ‘क्लीन स्वीप’ हुनुले यो मोर्चा अब राष्ट्रिय शक्तिबाट क्षेत्रीय शक्तिमा परिणत हुने खतरा बढेको छ।
आज नेपालमा कम्युनिष्ट पार्टीहरूको संख्या बढ्यो, तर जनमत घट्यो। दुई दर्जन कम्युनिष्ट पार्टीहरू छरिएर बस्दाको परिणाम के भयो भन्ने कुरा यतिखेर छर्लङ्ग छ। प्रचण्ड–माधवको ‘मेकानिकल एकता’ होस् वा ओलीको ‘अहंकारी नेतृत्व’, दुवैतर्फको नेतृत्वको उस्तै अहंकार र दम्भको सिकार आज सिंगो कम्युनिष्ट आन्दोलन भएको छ।
निर्वाचनको यो परिणामले नेपालका कम्युनिष्ट पार्टीहरूलाई अन्तिम चेतावनी दिएको छ। अब पनि केवल चुनावी रणनीतिका लागि मात्रै हात मिलाउने र भित्रभित्रै एक-अर्कालाई सिध्याउने ‘बैराभाव’ कायम राख्ने हो भने कम्युनिष्ट आन्दोलन इतिहासको पानामा मात्र सीमित हुनेछ। अब दलहरूको केवल संख्यात्मक एकीकरण होइन, नेतृत्वको ‘शुद्धीकरण’ र अहंकारको भत्काइ अनिवार्य छ। जनताका वास्तविक समस्यालाई सम्बोधन गर्न नसक्ने र आफ्नो दम्भलाई त्याग्न नसक्ने हो भने, नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य अब अन्धकारमय छ।








Interesting read! It’s cool seeing how tech is changing online casinos – things like seamless syncing sound great. Thinking of checking out bouncy balls download apk to see what’s new in the Philippines market! Seems promising.