चुनावी धक्कापछि पनि एमालेमा पुरानै अनुहारको हालीमुहाली, नयाँ पुस्ता पाखा लाग्दै

299 पटक पढिएको

३० फाल्गुन २०८२, शनिबार ०७:४८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ३० फाल्गुन । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) ले इतिहासकै कमजोर नतिजा सामना गरे पनि पार्टी नेतृत्व र समानुपातिक सूचीमा रहेका पुराना नेताहरूले पद नत्याग्दा कार्यकर्ता पङ्क्तिमा निराशा छाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार एमाले यस पटक तेस्रो शक्तिमा खुम्चिएको छ। भदौमा भएको राजनीतिक आन्दोलन र जनदबाबका बीच भएको यस निर्वाचनले एमालेको तीन पुस्तालाई नै धक्का दिएको भए तापनि नेतृत्व तहमा कुनै नैतिकताको सङ्कट देखिएको छैन।

निर्वाचनको लज्जास्पद हारका बाबजुद अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट र पटक–पटक अवसर पाइसकेका नेताहरूलाई नै संसद्मा पुर्‍याउने निश्चित भएको छ। पार्टीभित्र इमानदार र नयाँ अनुहारलाई पाखा लगाएर अध्यक्ष ओलीले आफ्ना आसेपासेलाई समानुपातिक सूचीको प्राथमिकतामा राखेका थिए। हाल प्रत्यक्षतर्फ मात्र ९ सिटमा सीमित भएको एमालेले समानुपातिकबाट १६ सिट पाएको छ। तर, यी सिटहरूमा पनि विगतमा मन्त्री र सांसद भइसकेका व्यक्तिहरुकै वर्चस्व रहने देखिएको छ।

समानुपातिकको अग्रपङ्क्तिमा रहेका रामबहादुर थापा ‘बादल’, गुरु बराल, र पद्मा अर्याल जस्ता नेताहरूले चुनावी पराजयपछि पनि नाम फिर्ता लिएर नयाँलाई मार्गप्रशस्त गर्ने नैतिकता देखाएका छैनन्। माओवादी हुँदै एमाले प्रवेश गरेका बादल र पटक–पटक मन्त्री भइसकेकी अर्याल फेरि पनि सत्ताकै दौडमा देखिएका छन्। यस्तै, पार्टीको आन्तरिक चुनावमा पराजित भएका गुरु बराललाई समेत ओलीले खस–आर्य कोटाको पहिलो नम्बरमा राखेर पुरस्कृत गरेका छन्।

त्यसैगरी, कञ्चनपुरबाट प्रत्यक्षमा पराजित भएकी निरु पाल र विवादित पृष्ठभूमि भएका जितबहादुर गौतम दर्जी जस्ता अनुहारहरू पनि समानुपातिकको बाटोबाट संसद् छिर्ने दाउमा छन्। एमालेले यस पटक प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार जिताउन नसकेका कारण समानुपातिक कोटाबाट महिलाको सङ्ख्या पुर्‍याउनुपर्ने कानुनी बाध्यता छ। यस बाध्यताको फाइदा उठाउँदै पुराना नेतृहरू पुनः संसद् छिर्ने तर नयाँ र सक्षम युवाहरू अवसरबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ।

पार्टीभित्र ठुलो क्षति हुँदा पनि नेतृत्वले त्यसलाई सामान्य रूपमा लिनु र पदको लोभमा पुराना नेताहरू टाँसिएर रहनुले एमालेको भविष्यमाथि नै प्रश्न उठाएको छ। जनमतले स्पष्ट रूपमा नयाँ नेतृत्वको खोजी गरे पनि एमालेमा भने पुरानै अनुहारको ‘रजगज’ कायमै देखिएको छ। निर्वाचन आयोगले सिट सङ्ख्या तोकिसकेकाले अबको तीन दिनभित्र दलहरूले निर्वाचित हुनेहरूको नाम बुझाउनुपर्नेछ, जसमा एमालेले फेरि तिनै पुराना पात्रहरूलाई पठाउने तयारी गरेको बुझिएको छ।


MxMcluck is a fun destination for slots fans, with good selection of games from new and old providers. I haven’t tried a lot and I will definitely try more of them. Check out mxmcluck!