चैते दशैं र राम नवमी पर्व देशभर श्रद्धापूर्वक मनाइँदै, सत्य र मर्यादाको सन्देश फैलिँदै

264 पटक पढिएको

१३ चैत्र २०८२, शुक्रबार ०७:२० सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज संवाददाता
धादिङ, १३ चैत ।आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन, देशभरका हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीरामको पूजा आराधना गरी राम नवमी पर्व मनाइरहेका छन्। असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको पावन दिनका रूपमा चिनिने यस पर्वलाई राम जयन्तीका नामले पनि पुकारिन्छ। देशभरका विभिन्न राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक पूजाअर्चना गरिरहेका छन्।

धार्मिक शास्त्रअनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याको जेठो सुपुत्रका रूपमा भगवान् विष्णुको सातौँ अवतारका रूपमा श्रीरामको जन्म भएको थियो। भगवान् श्रीरामले आफ्नो जीवनकालमा परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने उच्च मर्यादाको पालना गरेका कारण उनलाई मर्यादा पुरुषोत्तम भनिएको हो। उनको शासनकाललाई आज पनि ‘रामराज्य’ का नामले चिनिन्छ, जसलाई न्याय र सुशासनका लागि संसारभरि नै एउटा आदर्श नमुना मान्ने गरिन्छ।

काठमाडौँ उपत्यकाको बत्तीसपुतलीस्थित ऐतिहासिक राम मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। यस्तै, तराईको पवित्र भूमि जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न श्रद्धालुहरूको निकै घुइँचो लागेको छ। आज जानकी मन्दिर परिसरमा विशेष मेलाको समेत आयोजना गरिएको छ, जहाँ नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजनहरू सहभागी भएका छन्। भक्तजनहरूले बिहानै पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पुगेर श्रद्धा अर्पण गरिरहेका छन्।

आजको दिन श्रद्धालुहरूले स्नान गरी पवित्र भएर व्रत बस्ने परम्परा रहेको छ। घर–घरमा रामगीता र रामायण पाठ गरिन्छ भने मन्दिरहरूमा रामभक्तियुक्त भजनकीर्तनका साथ रातभर जाग्राम बस्ने चलन समेत रहेको छ। विशेषगरी धादिङका विभिन्न स्थानमा रहेका मन्दिरहरूमा पनि बिहानैदेखि धार्मिक अनुष्ठान र भजनकीर्तन भइरहेका छन्। चैते दशैंको भोलिपल्ट पर्ने राम नवमीले समाजमा सत्यको मार्गमा लाग्न र आफ्नो कर्तव्य पालना गर्न सबैलाई प्रेरणा दिने विश्वास गरिन्छ।