ओली हाजिरी जमानीमा रिहा, परिवारको जिम्मा
262 पटक पढिएको
काठमाडौं- काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आज हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको छ। केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएको काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले यसको पुष्टि गरेका हुन्।
प्रहरीका अनुसार, अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने शर्तमा ओलीलाई उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ। “अनुसन्धानमा आवश्यक हुँदा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएका छौँ,” एसपी भट्टराईले बताए।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। लेखक भने अझै हिरासतमा रहेका छन्। ओलीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
यसैबीच, ओलीकी पत्नी राधिका शाक्य तथा लेखकपत्नी यशोदा लेखकले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएका थिए। सो निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते अनुसन्धान २६ चैतभित्र टुंग्याउन परमादेश जारी गरेको थियो।
अदालतको आदेशअनुसार निर्धारित समयसीमाभित्र अनुसन्धान पूरा नभएपछि ओलीलाई शर्तसहित रिहा गरिएको हो। प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई पनि आजै रिहा गर्ने तयारी रहेको जनाएको छ।







