६ दशकको क्यामेरा यात्रा: धादिङका अग्रज फोटोग्राफर डल्लाकोटी सम्मानित

195 पटक पढिएको

१३ बैशाख २०८३, आईतवार २१:०२ सम्पादक: धादिङ न्यूज

धादिङ, १३ बैशाख । ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा धादिङमा एक विशेष समारोहका बीच अग्रज फोटोग्राफर महेन्द्र डल्लाकोटीलाई सम्मान गरिएको छ। राष्ट्रिय फोटो पत्रकार महासंघ (एनएफपीजे) धादिङ शाखाले करिब ६ दशकदेखि फोटोग्राफी क्षेत्रमा निरन्तर सक्रिय ८२ वर्षीय डल्लाकोटीलाई उहाँको योगदानको कदर गर्दै सम्मान गरेको हो।

बेनीघाट रोराङ निवासी डल्लाकोटीले सम्मान ग्रहण गर्दै आफूले लामो समयदेखि प्रयोग गर्दै आएका ऐतिहासिक दुई थान पुराना क्यामेराहरू महासंघलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा उहाँले आफ्ना पुराना अनुभव र फोटोग्राफी यात्राका रोचक स्मरणहरू सुनाउँदा उपस्थित पत्रकारहरू भावुक बनेका थिए। डल्लाकोटीले खिचेका तस्बिरहरूले धादिङको इतिहास र विकासक्रमलाई जीवन्त राख्न ठूलो भूमिका खेलेको चर्चा कार्यक्रममा गरिएको थियो।

एनएफपीजे धादिङका अध्यक्ष मनिष दुवाडीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार महासंघका उपाध्यक्ष नारायण बहादुर सिलवाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिलवालले पुराना तस्बिरहरू इतिहासको ऐना भएको बताउँदै डल्लाकोटीको योगदान नयाँ पुस्ताका फोटो पत्रकारहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, पूर्व अध्यक्षद्वय नवराज छत्कुली र राजाराम शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य केशव अधिकारी, फोटो पत्रकार संघ बागमती प्रदेशका कोषाध्यक्ष शंकर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र फोनिजका जिल्ला अध्यक्षहरूका साथै जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको सो कार्यक्रममा धादिङमा फोटो पत्रकारिताको चुनौती र भविष्यका बारेमा समेत छलफल गरिएको थियो।