बैरेनी अस्पताललाई प्रादेशिक ट्रमा सेन्टर बनाउन उच्चस्तरीय पहल: दुर्घटनाका घाइतेले समयमै उपचार पाउने विश्वास
166 पटक पढिएको
धादिङ, १४ वैशाख । धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताललाई बागमती प्रदेशकै नमुना ‘प्रादेशिक ट्रमा सेन्टर’का रूपमा स्तरोन्नति गर्ने बिषयमा छलफल शुरु भएको छ ।
पृथ्वी राजमार्गको मध्य भागमा रहेको यस अस्पताललाई आकस्मिक सेवा र दुर्घटनाका घाइतेहरूको उपचारमा केन्द्रित रहने गरी ट्रमा सेन्टर बनाउन सोमबार सरोकारवाला निकाय र जनप्रतिनिधिहरूबीच उच्चस्तरीय छलफल भएको हो। गल्छी गाउँपालिकामा आयोजित उक्त छलफलमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, स्वास्थ्य मन्त्री किरण थापा, प्रदेश सांसद मधु कुमार श्रेष्ठ, र बागमती प्रदेशका स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमको विशेष उपस्थिति रहेको थियो।
छलफलका क्रममा अस्पतालको वर्तमान अवस्था, यसको भौगोलिक महत्व र ट्रमा सेन्टरका लागि आवश्यक पर्ने थप पूर्वाधार एवं जनशक्ति व्यवस्थापनका विषयमा गम्भीर संवाद भएको छ। गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा र स्वास्थ्य विज्ञहरूको सहभागिता रहेको सो कार्यक्रममा सहभागीहरूले राजमार्गको केन्द्रमा पर्ने बैरेनीमा ट्रमा सेन्टर स्थापना गर्नु अपरिहार्य रहेको औँल्याउनुभयो। विशेषगरी पृथ्वी राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेहरूलाई तत्काल अस्पताल पुर्याउन नसक्दा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेकोमा, बैरेनी अस्पतालको स्तरोन्नतिले अकालमा हुने मृत्युदर घटाउन निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको अस्पतालका प्रमुख डा.मधुकर दाहालले बताउनु भयो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले धादिङसहित आसपासका जिल्लाका नागरिकलाई छिटो र प्रभावकारी आकस्मिक स्वास्थ्य सेवा पुर्याउनु प्रदेश सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो। उहाँले बैरेनी अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न आवश्यक पर्ने आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकहरूको व्यवस्थापनका लागि प्रदेश सरकारले ठोस पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। त्यस्तै, पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यो परियोजना गल्छी क्षेत्रको मात्र नभएर समग्र बागमती प्रदेशकै महत्वपूर्ण स्वास्थ्य उपलब्धि हुने उल्लेख गर्दै यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
राजधानी प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको पृथ्वी राजमार्गमा सवारी चाप अत्यधिक हुने भएकाले यहाँ दुर्घटनाको जोखिम सधैँ रहन्छ। अहिलेको अवस्थामा गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ वा चितवन लैजानुपर्ने बाध्यता छ, जसले गर्दा धेरै घाइतेले ‘गोल्डेन आवर’ (दुर्घटनापछिको महत्वपूर्ण पहिलो घण्टा) मा उपचार पाउन सक्दैनन्। बैरेनीमा ट्रमा सेन्टर बनेमा धादिङसहित छिमेकी जिल्ला नुवाकोट र चितवनका केही भेगका बासिन्दाहरूले पनि स्तरीय र आधुनिक आकस्मिक सेवा नजिकैबाट प्राप्त गर्न सक्ने अस्पतालका प्रमुख डा. दाहाल बताउनुहुन्छ ।
गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले अस्पतालको स्तरोन्नतिका लागि स्थानीय सरकारको तर्फबाट जग्गा व्यवस्थापनदेखि अन्य प्रशासनिक समन्वयमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। यो पहलले सार्थकता पाएमा बैरेनी अस्पतालले राजमार्गका घाइतेहरूका लागि मात्र नभई स्थानीय स्तरमा जटिल स्वास्थ्य समस्या भोगिरहेका नागरिकहरूका लागि पनि लाइफलाइनको रूपमा काम गर्ने अपेक्षा गरिएको अध्यक्ष खतिवडाले बताउनु भयो ।








