आज १९औँ गणतन्त्र दिवस मनाइँदै ,सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

174 पटक पढिएको

१५ जेष्ठ २०८३, शुक्रबार ०७:०० सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १५ जेठ- नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २४० वर्ष लामो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै नागरिक सर्वोच्चता र वंशीयतन्त्रमाथि जनताको जित स्थापित भएको सोही ऐतिहासिक दिनको सुखद् स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ। तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष पूरा भइसकेको छ।

यो व्यवस्थाले नेपाली जनतालाई स्वतन्त्रता, सामाजिक न्याय र समावेशी समानुपातिक लोकतन्त्रसहित सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गर्दै समुन्नत भविष्यका लागि एकताबद्ध हुने मार्ग प्रशस्त गरेको छ। अबको मुख्य कार्यभार भनेको शिक्षा, स्वास्थ्य,, सार्वजनिक यातायात र सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै गरिबी अन्त्य गर्ने र विश्वमञ्चमा नेपालको प्रतिष्ठा उँचो बनाउने नै हो। जनअपेक्षा र जनभावनाअनुरूप चल्नु नै गणतान्त्रिक संविधानको मूल मर्म भएकाले यसलाई केवल राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीका रूपमा आत्मसात् गर्न आवश्यक देखिन्छ। विश्वमै उत्तम मानिएको यस शासन व्यवस्थालाई जनताको जीवनस्तर सुधार्ने र राष्ट्र समृद्ध बनाउने बलियो माध्यम मानिएको छ।

यसै अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभावहरूको सहभागिता रहनेछ भने राष्ट्रपति पौडेलले सो समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस विशेष घडीमा लोकतान्त्रिक परिवर्तनका लागि आफ्नो प्राण आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जेलनेल र यातना सहेका अग्रजहरूको योगदानको स्मरण गरिँदैछ। आजको दिनले नागरिकलाई अझ अधिकारसम्पन्न र खुसी बनाउने अभियानमा जुट्न थप प्रतिबद्धता जगाउने विश्वास राजनीतिक दलका नेताहरूले व्यक्त गरेका छन्।