रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न: सभापतिमा राजन अर्याल विजयी

573 पटक पढिएको

२४ जेष्ठ २०८३, आईतवार ०७:२१ सम्पादक: धादिङ न्यूज

धादिङवेशी, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशन जेठ २३ गते धादिङवेशीमा भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले लोकतान्त्रिक अभ्यास गर्दै राजन अर्यालको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

अधिवेशनको उद्घाटन रास्वपाका नेता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले संगठन विस्तार र पार्टीका नीतिहरूलाई तल्लो तहसम्म लैजानुपर्नेमा जोड दिनुभयो। यसका साथै सांसदहरू बशुमाया तामाङ र आशिका तामाङ लगायतका वक्ताहरूले पनि पार्टीको सुदृढीकरणका बारेमा प्रकाश पार्नुभएको थियो।

निर्वाचनको मत परिणामअनुसार सभापति पदमा १४३ मत प्राप्त गर्दै राजन अर्याल विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धीहरू सूयमणि पाठकले ९२ मत र रामकुमार थपलियाले ६३ मत प्राप्त गर्नुभयो। त्यसैगरी उपसभापति पदमा २१६ मतका साथ श्रवण त्रिपाठी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी लिला श्रेष्ठले ७७ मत प्राप्त गर्नुभयो। सचिव पदमा १६२ मत प्राप्त गर्दै राम भण्डारी विजयी हुनुभएको छ, जसमा प्रतिस्पर्धीहरू कल्पना श्रेष्ठले ८० मत र विदुर अधिकारीले ५८ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा १६० मत प्राप्त गर्दै श्रीराम आचार्य विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी राजेन्द्र कडेलले १२७ मत प्राप्त गर्नुभयो।

अधिवेशनले जिल्ला कार्य समितिको सदस्यहरूमा उषा कार्की, रामकृष्ण परियार, सुन्दर अधिकारी र मदन भण्डारीलगायतलाई निर्वाचित गरेको छ। त्यस्तै, रास्वपा क्षेत्र नम्बर १ को संयोजकमा रामजी प्रसाद पाठक, सह-संयोजकमा अमृता केसी र सचिवमा प्रवेश धरेल निर्वाचित हुनुभएको छ। क्षेत्र नम्बर २ को संयोजकमा राजेन्द्र अधिकारी, सह-संयोजकमा ओम प्रसाद काराखेती र सचिवमा माधवराज अधिकारी निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित सभापति राजन अर्यालले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सम्पूर्ण प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पार्टीलाई धादिङमा थप सुदृढ, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अधिवेशनको सफलतासँगै अब रास्वपाले धादिङमा आफ्नो सङ्गठनात्मक गतिविधिलाई अझ तीव्रताका साथ अगाडि बढाउने अपेक्षा गरिएको छ।

निर्वाचन परिणामलाई  स्वीकार गर्दै रास्वपा धादिङका संस्थापक अध्यक्ष सूर्यमणि पाठकले फेसबुकमा लेख्नुभएको छ, “२०७९/०४/२५ गते तदर्थ समितिको सभापति चयन हुँदै गर्दा ममाथि धेरै चुनौतीहरू थियो, त्यो अवस्थामा पनि नेतृत्व सम्हाल्ने आँट गरेको हुँ। हिजोको अवस्थाबाट आजसम्म पार्टी नेतृत्व सम्हाल्दै यहाँसम्म आइपुग्नु न्यून चुनौती थिएनन्। पार्टीलाई यो उचाईसम्म ल्याउन लागिपर्नुहुने सबैप्रति आभार प्रकट गर्न चाहन्छु र मलाई विश्वास गरेर मत दिनुहुने सबैप्रति आभारी छु। अबको दिनमा यो अभियानलाई उचाईमा पुर्‍याउन सधैं तपाईंहरूको साथमै रहेको कुरा अवगत गराउँदै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।”

पाठकले अधिवेशन सम्पन्न गराउन सक्रिय भूमिका निर्वाह गर्ने तदर्थ जिल्ला समिति, पालिका समिति, अधिवेशन प्रतिनिधि, वडा समिति, जिल्ला र्‍याट/संगठन विभाग, प्रदेश समिति, केन्द्रीय समिति तथा निर्वाचन समितिप्रति हार्दिक आभार एवं धन्यवाद समेत व्यक्त गर्नुभएको छ।

नवनिर्वाचित सभापति राजन अर्यालले पनि आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सम्पूर्ण प्रतिनिधिहरूलाई धन्यवाद दिँदै पार्टीलाई धादिङमा थप सुदृढ, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।