आज देशभर मौसम बदली ,कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

320 पटक पढिएको

३० जेष्ठ २०८३, शनिबार ०७:३६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ३० जेठ । नेपालको पूर्वी तथा मध्य भूभागमा मौसम सक्रिय भएसँगै देशभरको तापक्रम घटेर गर्मीबाट केही राहत मिल्न थालेको छ । गएराति पूर्व र मध्य भेगका विभिन्न स्थानमा हल्का वर्षा भएको छ भने आज दिनभर पनि मुलुकका अधिकांश क्षेत्रमा बदली भई पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला केही दिनयता लगातार भइरहेको वर्षाका कारण देशभर नै गर्मीको प्रभाव बिस्तारै कम हुँदै गएको हो ।

आज दिउँसोको मौसम विशेषगरी कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केन्द्रित हुने देखिएको छ । यी प्रदेशका थोरै स्थानहरूमा र बाँकी अन्य पहाडी तथा तराई भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, उच्च हिमाली क्षेत्रहरूमा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

यो मौसमी प्रणाली रातिको समयमा पनि कायम रहने महाशाखाको पूर्वानुमान छ । आज राति कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ । विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा (ठूलो पानी) समेत हुन सक्ने भएकाले ती क्षेत्रका नदी तटीय र जोखिमयुक्त बस्तीहरूमा सावधानी अपनाउन आवश्यक रहेको छ ।