एमालेको ‘मिसन जागरण अभियान’: धादिङका १३ वटै पालिकामा खटिए केन्द्रीय नेता

515 पटक पढिएको

३१ जेष्ठ २०८३, आईतवार २१:४३ सम्पादक: धादिङ न्यूज

धादिङवेशी । नेकपा एमालेको ‘मिसन जागरण अभियान’ अन्तर्गत धादिङका  १३ वटै स्थानीय तहमा केन्द्रीय नेताहरूलाई विशेष जिम्मेवारी तोकिएको छ। आगामी निर्वाचनलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस अभियानका लागि एमालेले जिल्लाका स्थानीय तहहरूमा नेताहरूको कार्यविभाजन गरेको हो।

अभियानलाई प्रभावकारी बनाउन एमालेले नेताहरूको कार्यक्षेत्र यसरी विभाजन गरेको छ: धुनिबेसी नगरपालिका तथा थाक्रे, गजुरी र सिद्धलेक गाउँपालिकाको जिम्मेवारी भूमि त्रिपाठीलाई दिइएको छ। जिल्लाको सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकामा जानुका सिंखडालाई खटाइएको छ भने गल्छी र बेनिघाट रोराङ गाउँपालिकाको कमान्ड डा. पुष्पराज कँडेलले सम्हाल्नुहुनेछ।

यसैगरी ज्वालामुखी र गङ्गाजमुना गाउँपालिकामा क्रान्ति बुर्लाकोटी तथा उत्तरी धादिङको विकट क्षेत्रमा पर्ने रुवी भ्याली र खनियाबास गाउँपालिकामा धनबहादुर घलेलाई जिम्मेवारी तोकिएको छ। त्यस्तै नेत्रावती डबजोङ र त्रिपुरासुन्दरी गाउँपालिकामा खेमप्रसाद लोहनीलाई अभियानको जिम्मेवारी सुम्पिइएको छ।

पार्टीकाका अनुसार यो अभियानमार्फत केन्द्रीय नेताहरू सिधै जनस्तरमा पुगेर जनतासँग साक्षात्कार गर्नेछन्। ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ’ भन्ने मूल नाराका साथ सुरु गरिएको यस अभियानमा नेताहरूले विगतको निर्वाचनमा व्यहोर्नुपरेको हारको गम्भीर समीक्षा गर्ने, कार्यकर्तामा रहेको निराशालाई चिर्ने र पार्टीको भावी नीति तथा योजनाबारे स्पष्ट पार्ने मुख्य जिम्मेवारी पाएका छन्।

यस पटक एमालेले आफ्नो परम्परागत प्रचार शैलीमा व्यापक परिवर्तन गर्दै आधुनिक प्रविधिको प्रयोगमा जोड दिएको छ। अभियानका क्रममा डिजिटल सङ्गठन निर्माण, प्रविधिको ‘अल्गोरिदम’ बुझेर प्रचार गर्ने र ‘पर्सेप्सन म्यानेजमेन्ट’ अर्थात् विपक्षीले फैलाएका भ्रमको निवारण गरी पार्टीप्रति सकारात्मक धारणा व्यवस्थापन गर्न कार्यकर्ताहरूलाई विशेष रूपमा निर्देशित गरिएको छ।