विश्वकपमा जर्मनीको सानदार सुरुवात: नवप्रवेशी क्युरासाओ ७–१ को फराकिलो अन्तरले पराजित
205 पटक पढिएको
ह्युस्टन, अमेरिका (असार १) । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को आफ्नो पहिलो खेलमा पूर्व विजेता जर्मनीले सानदार जित दर्ता गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा ६८ हजारभन्दा बढी दर्शकमाझ भएको एकपक्षीय खेलमा जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको नवप्रवेशी टोली क्युरासाओमाथि ७–१ को ऐतिहासिक र फराकिलो जित दर्ता गरेको हो। आक्रामक रणनीति पस्किएको जर्मनीले खेलको सुरुवातदेखि अन्त्यसम्म आफ्नो बलियो दबाब कायम राख्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
खेल सुरु भएको छैटौँ मिनेटमै फ्लोरियान विर्ट्जको पासमा फेलिक्स नेमेचाले उत्कृष्ट गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए, जुन जारी विश्वकपकै सबैभन्दा तीव्र गोल समेत बनेको छ। खेलको २१औँ मिनेटमा क्युरासाओका लिभानो कोमेनेन्सियाले डिफेन्सको कमजोरीको फायदा उठाउँदै गोल गरेर खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएका थिए। यो गोल विश्वकप इतिहासमा क्युरासाओको तर्फबाट भएको पहिलो ऐतिहासिक गोल बन्यो, जसलाई रंगशालामा उपस्थित उनीहरूका समर्थकले उत्सवका रूपमा मनाए। तर, क्युरासाओको त्यो खुसी धेरै समय टिक्न सकेन। खेलको ३८औँ मिनेटमा नाथानियल ब्राउनको कर्नर किकमा निको श्लोटरबेकले उत्कृष्ट हेडमार्फत गोल गर्दै जर्मनीलाई पुनः २–१ को अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा फेलिक्स नेमेचालाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई काई हाभर्ट्जले सहजै गोलमा परिणत गरेपछि जर्मनी पहिलो हाफमै ३–१ ले अघि रह्यो।
दोस्रो हाफ सुरु भएको ६९औँ सेकेन्डमै जमाल मुसियालाले जोसुवा किमिचको पासलाई सदुपयोग गर्दै जर्मनीका लागि चौथो गोल थपे। खेलको ६८औँ मिनेटमा युवा डिफेन्डर नाथानियल ब्राउनले आफ्नो विश्वकप डेब्यु खेललाई सम्झनायोग्य बनाउँदै सुन्दर गोल गरेपछि खेल ५–१ को स्थितिमा पुग्यो। त्यसको १० मिनेटपछि, अर्थात् ७८औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेनिज उन्डाभले अर्को गोल थपे। खेलको अन्त्यतिर ८८औँ मिनेटमा काई हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनीको ७–१ को विशाल जित सुनिश्चित भएको थियो।
यो खेल फुटबल इतिहासमा केही रोचक र दुर्लभ कीर्तिमानका लागिसमेत स्मरणीय बनेको छ। विश्वकप इतिहासमै पहिलो पटक दुई टोलीका मुख्य प्रशिक्षकबीच सबैभन्दा बढी अर्थात् ४० वर्षको उमेर अन्तर देखियो। क्युरासाओका मुख्य प्रशिक्षक डिक एड्भोकाट ७८ वर्षको उमेरमा विश्वकप इतिहासकै सबैभन्दा पाका प्रशिक्षक बने भने जर्मनीका जुलियन नागेल्सम्यान ३८ वर्षको उमेरमा यस विश्वकपकै सबैभन्दा कान्छा प्रशिक्षकका रूपमा मैदान उत्रिएका थिए। यसैगरी, अन्तर्राष्ट्रिय सन्यास फिर्ता लिँदै टोलीमा फर्किएका ४० वर्षीय दिग्गज गोलकिपर म्यानुएल नोयर विश्वकप खेल्ने जर्मनीका सबैभन्दा पाका खेलाडी बनेका छन्। जर्मनीको यो नतिजाले फुटबल फ्यानहरूलाई सन् २०१४ को विश्वकप सेमिफाइनलमा जर्मनीले आयोजक ब्राजिलविरुद्ध निकालेको सोही स्कोरलाइनको ऐतिहासिक जितको ताजा सम्झना गराएको छ। यो जितसँगै जर्मनी समूह ‘ई’ को शीर्ष स्थानमा उक्लिएको छ र उसले अब आगामी शनिबार आइभोरी कोस्टसँग सामना गर्नेछ भने पराजित क्युरासाओले इक्वेडरको सामना गर्नेछ।








https://shorturl.fm/MLlTU