अमेरिकामा व्यावसायिक पाइलट बने धादिङका मिङमार तामाङ

261 पटक पढिएको

२४ असार २०८३, बुधबार ०६:३६ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको दुर्गम हिमाली क्षेत्र रुबीभ्याली गाउँपालिका–३, सेर्तुङ निवासी मिङमार तामाङ अमेरिकामा व्यावसायिक पाइलट बन्न सफल भएका छन्। अमेरिकाको एक प्रतिष्ठित एभिएसन एकेडेमीबाट १३ महिना लामो कठिन व्यावसायिक फ्लाइट ट्रेनिङ (पाइलट कोर्स) सफलतापूर्वक पूरा गर्दै उनले यो सफलता हासिल गरेका हुन्।

लामो समयको कठोर प्रशिक्षण, कडा अनुशासन र निरन्तरको हवाई अभ्यासपछि उनले फ्लाइट स्कुलको सम्पूर्ण प्राविधिक प्रशिक्षण तथा अन्तिम व्यावसायिक मूल्याङ्कन सफलतापूर्वक उत्तीर्ण गरेका हुन्। भौगोलिक रूपमा अत्यन्तै विकट र सडक सञ्जालले समेत राम्ररी नजोडिएको रुबीभ्यालीको सेर्तुङ गाउँबाट अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रको प्रतिष्ठित विधामा पुगेर पाइलट बन्ने मिङमारको यो यात्रा संघर्ष, लगनशीलता र दृढ संकल्पको एउटा उत्कृष्ट उदाहरण बनेको छ।

बाल्यकालदेखि नै आकाशमा उड्ने सपना पालेका तामाङले निरन्तरको अध्ययन र कठिन परिश्रमका बलमा आफ्नो त्यो सपनालाई अन्ततः साकार पारेका छन्। मिङमारले यो ऐतिहासिक सफलता प्राप्त गरेसँगै उनका बुबा मानछिरिङ तामाङले ले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै लेखेका छन्, “आज मेरो जीवनको अत्यन्तै खुसी र गर्वको दिन हो। मेरो छोराले १३ महिनाको अथक मेहनत, अनुशासन र समर्पणपछि फ्लाइट स्कुलको सम्पूर्ण प्रशिक्षण सफलतापूर्वक पूरा गर्दै अन्तिम मूल्याङ्कन पनि उत्तीर्ण गरेको छ। उसको यो उपलब्धिले मेरो मन गर्व र खुसीले भरिएको छ।”

सडक, शिक्षा र पूर्वाधारका हिसाबले अझै पनि पछाडि परेको उत्तरी धादिङको गणेश हिमालको काखमा रहेको गाउँबाट अमेरिका पुगेर व्यावसायिक पाइलट लाइसेन्स प्राप्त गर्नु सम्पूर्ण धादिङवासी र विशेष गरी दुर्गम क्षेत्रका युवाहरूका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ। उड्डयन क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका नेपाली युवाहरू माझ मिङमारको यो सफलताले सकारात्मक ऊर्जा थपेको छ।

तामाङले सफलतापूर्वक पाइलट कोर्स पूरा गरेको समाचार बाहिरिएसँगै यतिबेला सामाजिक सञ्जालमा उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ भने उनको गृहजिल्ला धादिङ र रुबीभ्यालीमा खुसीयाली छाएको छ। व्यावसायिक उडानको औपचारिक सुरुवात र आगामी यात्राको थप विवरण भने सार्वजनिक हुन बाँकी छ।