देशका विभिन्न स्थानमा अति भारी वर्षाको चेतावनी, बाढी र पहिरोको उच्च जोखिमका कारण सतर्क रहन अपिल

152 पटक पढिएको

२९ असार २०८३, सोमबार ०७:२२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मनसुनी वायु सक्रिय भएसँगै देशभर मनसुनी वर्षा बलियो हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेकाले मुलुकका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार पनि मनसुनी वायु सक्रिय हुँदा वर्षा बलियो बन्दै गएको भए पनि देशको सबै भू-भागमा वर्षाको अवस्था भने एकनासको छैन । हाल देशभर अधिकांश बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसैबीच कोशी प्रदेशका ठाउँ-ठाउँमा मध्यमदेखि भारी वर्षा रेकर्ड गरिएको छ, जसअन्तर्गत धरानको तरहरा केन्द्रमा पछिल्लो ६ घण्टामा १०५ मिलिमिटर भारी वर्षा भएको छ । मधेश प्रदेशको सिरान क्षेत्रमा पर्ने सिन्धुलीको दुधौली आसपास पनि पछिल्लो ६ घण्टामा ७७.४ मिमी मध्यम वर्षा भएको छ भने चितवन आसपासका क्षेत्रमा पनि भारी वर्षा भइरहेको देखिन्छ । काठमाडौँ उपत्यकाको मध्य तथा उत्तरी भाग विशेषगरी बालाजु क्षेत्रमा सोमबार बिहान १०-११ बजेसम्म मध्यम वर्षा भएको थियो । दिउँसो केही समय वर्षा थामिए जस्तो भए पनि सोमबार साँझदेखि भोलिसम्म पुनः भारी वर्षा भई यो प्रणाली काठमाडौँको वरिपरि फैलिँदै जाने प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित चुरे क्षेत्रमा भएको मध्यम वर्षाका कारण पथरिया नदीको जलसतह बढेको छ भने कैलालीकै पूर्वी भाग लमकीचुवा र लुम्बिनीको कोहलपुर तथा दाङ क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ, यद्यपि धनगढीको पश्चिमी क्षेत्र र कञ्चनपुरसम्म भने हाल खासै वर्षा भएको छैन ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ ।

आज राति पनि मौसममा विशेष बदलाब आउने र कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने महाशाखाले जनाएको छ । रातिको समयमा कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा मधेस प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ भने कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । समग्रमा आज र भोलि देशको पूर्वी तथा मध्य भागमा मनसुन निकै सक्रिय रहने देखिन्छ । मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभाग र जलवायु विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । साथै यो मौसमी प्रतिकूलताका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन अपिल गरिएको छ ।

  • एआई निर्मित सांकेतिक तस्बिर