रुवीभ्यालीमा हाइड्रोका दुई मजदुर बेपत्ता, फेला परेको एक जनाको शव पनि फेरि बाढीले बगायो

133 पटक पढिएको

२९ असार २०८३, सोमबार १९:३७ सम्पादक: धादिङ न्यूज

धादिङ, २९ असार । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिकामा केही दिन अघि बाढीले बगाएर बेपत्ता भएका गोरक्ष हाइड्रोपावरका दुई जना मजदुरमध्ये एक जनाको शव फेला परेर पनि पुनः नदीले बगाएको छ । प्रतिकूल मौसम र नदीको तीव्र बहावका कारण उद्धार टोलीले शव बाहिर निकाल्न नसक्दा उक्त दुःखद अवस्था सिर्जना भएको हो ।

 रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ इसिङस्थित गोरक्ष हाइड्रोपावरमा कार्यरत दुई जना मजदुर खोला तर्ने क्रममा बगेका हुन् । हाइड्रोपावरको निर्माण कार्य गरिरहेको सुनाम निर्माण प्रालिका ती  मजदुरहरू खोला पार गर्ने क्रममा  बाढीमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार बाढीमा परी डडेल्धुरा जिल्ला अजयमेरु गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय रमेशबहादुर पाण्डे र रौतहट जिल्ला समनपुर गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय नवीन हुसेन मन्सुरी बेपत्ता भएका हुन् ।

 खोजी कार्यकै क्रममा रौतहटका ३२ वर्षीय नवीन हुसेन मन्सुरीको शव घटनास्थल भन्दा केही तल किम्ताङफेदीस्थित आँखुखोलामा तैरिरहेको अवस्थामा फेला परेको थियो । शव देखेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको टोली  लागि खटेका थिए ।

तर, मौसमको प्रतिकूलता, निरन्तरको वर्षा र नदीमा पानीको बहाव  भएका कारण  टोली शवसम्म पुग्न सकेन । सुरक्षाकर्मी र स्थानीयको  प्रयासका बाबजुद खोलाको तीव्र बेगले गर्दा फेला परेको शवलाई फेरि बाढीले बगाएर तल्लो तटीय क्षेत्रतर्फ लगेको छ ।

उत्तरी धादिङको आँखुखोला क्षेत्रको रुबीभ्याली खण्डमा वर्षाका कारण ठूलो बाढी आएकाले यतिबेला जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ । बाढी र पहिरोका कारण सो क्षेत्रका बासिन्दाहरू गाउँपालिकाको कार्यालयसम्म आउन समेत नसक्ने गरी बाटो अवरुद्ध भएको छ ।

यस्तो विषम परिस्थितिका बिच पनि सुरक्षा निकाय र स्थानीयवासी बेपत्ता भएकाहरुको खोजी कार्यलाई  तीव्र बनाएका छन् । अहिले आँखुखोलाको तल्लो तटीय क्षेत्र र आसपासका सम्भावित स्थानहरूमा प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको छ । खोलाको बहाव अझै पनि उच्च र निकै जोखिमपूर्ण रहेकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको भए तापनि विभिन्न स्थानमा टोली विभाजन गरेर बेपत्ता पाण्डे र  मन्सुरीको खोजीलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।