आदमटार नजिकै रहेको गजुरी-गल्छी जोड्ने झोलुङ्गे पुल जोखिममा

137 पटक पढिएको

२ श्रावण २०८३, शनिबार ०७:१० सम्पादक: धादिङ न्यूज

धादिङ, २ साउन । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वी राजमार्गबाट गल्छी गाउँपालिकाको वडा नम्बर २ वेलिनिटार महादेवस्थान जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको दुई वर्ष पनि नहुँदै जोखिमपूर्ण बनेको छ । पुल अत्यन्तै जोखिमपूर्ण बनेपछि दैनिक आउजाउ गर्ने किसान, विद्यार्थी र स्थानीय जनसमुदाय मारमा परेका छन् । दैनिक करिब ४ देखि ५ सय सर्वसाधारणको आवतजावत हुने तथा मोटरसाइकल समेत गुड्ने यो पुलको आधा भाग अहिले एकतर्फी रूपमा कोल्टिएको (ढल्किएको) छ ।

स्थानीयका अनुसार केही महिना अघि पुलको आदमघाट तर्फको भाग नजिकै घडेरी सम्याउने क्रममा सयौँ ट्रिपर माटो त्रिशूली नदीतर्फ फ्याँकिएको थियो । सोही माटोले पुलको पखेटा तन्काउने लठ्ठा र जीप  पुरिएपछि पुल कोल्टिन सुरु गरेको थियो । हालैको अविरल वर्षाका कारण सोही माटो बगेर लठ्ठा झन् बढी पुरिँदै गएपछि पुल थप कोल्टिएको र जोखिम निकै बढेको गल्छी २ का स्थानीय लक्ष्मण खतिवडाले जानकारी दिनु भयो ।

यो पुल निर्माण भएपछि पृथ्वी राजमार्ग भएर गुड्ने सार्वजनिक सवारी साधनका चालक, सह-चालक र यात्रुहरूका लागि यो एउटा मुख्य ‘जक्सन’ जस्तै बनेको थियो । “नयाँ पुल” भन्दै चालकहरूले गाडी रोक्ने र यात्रुहरू ओराल्ने तथा चढाउने कार्य  गर्ने गरेका छन् । तर पुलको यो हविगत भएपछि यात्रु  त्रिशूली नदी माथि हल्लिएको र ढल्किएको पुल तर्न बाध्य छन्, जसले गर्दा  एक किसिमको त्रास फैलिएको छ ।

पुल आधा जति कोल्टिएका कारण भारी बोकेर हिँड्ने स्थानीयहरू सन्तुलन गुमाएर लड्ने र घाइते हुने क्रम बढेको छ । वर्षायाममा उर्लिएको त्रिशूली नदीमाथि रहेको यो पुल जुनसुकै बेला पनि ठूलो दुर्घटनामा पर्न सक्ने भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

 हावाहुरी चल्दा पुल पल्टिने  खतरा छ । यदि समयमै ध्यान नदिने हो भने दैनिक हिँड्ने सयौँ स्कुले बालबालिका, किसान र मोटरसाइकल चालकहरू त्रिशूली नदीमा खसेर ठूलो मानवीय क्षति हुन सक्ने स्पष्ट देखिन्छ ।

व्यस्त रहने यो मार्गको पुललाई तत्काल प्राविधिक टोली खटाई मर्मत गरी सम्भावित ठूलो दुर्घटनाबाट जोगाउन सम्बन्धित स्थानीय सरकार र सरोकारवाला निकायले अविलम्ब कदम चाल्नु जरुरी देखिएको स्थानीय बताउँछन् ।