धादिङमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाख ६९ हजार नगद बरामद

138 पटक पढिएको

३ श्रावण २०८३, आईतवार २०:२६ सम्पादक: धादिङ न्यूज


धादिङवेशी, ४ साउन । धादिङको नीलकण्ठ नगरपालिकामा अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार साउन २ गते दिउँसो नीलकण्ठ नगरपालिका वडा नं. ३ पहरे चौतारास्थित डिल बहादुर तामाङको घरको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त शंकास्पद घरमा रीतपूर्वक खानतलासी गर्दा जुवातास खेलिरहेकै अवस्थामा ६ जनालाई फेला पारेको हो।

प्रहरीले जुवाको खालबाट नगद १ लाख ६९ हजार ३ सय ५० रुपैयाँ, ७ थान मोबाइल, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गरिएको १ थान डसना समेत बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा मूल घर धादिङको गंगाजमुना गाउँपालिका वडा नं. २ भई हाल नीलकण्ठ नगरपालिका वडा नं. ३ बस्ने ६१ वर्षीय घरधनी डिल ब. तामाङ, ४१ वर्षीय सन्तोष तामाङ, ५० वर्षीय खार्पा तामाङ, ४३ वर्षीय मंगल तामाङ र ३९ वर्षीय कार लामा तामाङ रहेका छन्। त्यस्तै, सोही ठाउँ मूल घर भई हाल नीलकण्ठ नगरपालिका वडा नं. १२ बस्ने ५३ वर्षीय नेच तामाङ पनि पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार उनीहरूलाई साउन ३ गते जिल्ला प्रशासन कार्यालय धादिङमा पेश गरिएकोमा अनुसन्धानका लागि १० दिनको म्याद थप अनुमति प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।