जवाङ खोलामा निरन्तर ढुंगा झरेपछि मुग्लिन-काठमाडौँ सडक खण्ड पुनः अवरुद्ध, सयौँ सवारी रोकिए
153 पटक पढिएको
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा फेरि ढुंगासहितको पहिरो खसेपछि मुग्लिन–काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
चितवनतर्फको पहिरो पन्छाएर बाटो खोल्ने प्रयास भइरहेका बेला धादिङको जवाङ खोलामा माथिबाट निरन्तर ढुंगा र लेदो खस्ने क्रम नरोकिँदा यातायात ठप्प भएको हो।
पहिरासँगै माथिबाट निरन्तर ढुंगा झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन निकै कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिए।
“सडकमा खसेको लोदो र ढुंगा पन्छाउन डोजर परिचालन गरिसकिएको छ, तर माथिबाट निरन्तर ढुंगा झरिरहेकाले जोखिम कायमै छ,” डिएसपी दाहालले भने, “सुरक्षालाई ध्यानमा राख्दै काम गर्नुपर्ने भएकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने देखिएको छ।”
सडक अवरुद्ध भएसँगै काठमाडौँ भित्रिने र बाहिरिने सयौँ यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू राजमार्गमै रोकिएका छन्। घण्टौँदेखि बाटोमै थन्किँदा यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ। प्रहरीले अत्यावश्यक बाहेकका सवारी साधनलाई जोखिमपूर्ण क्षेत्रमा हतार नगर्न र धैर्यता अपनाउन आग्रह गरेको छ।








https://shorturl.fm/H8Vu9
https://shorturl.fm/HzseE