भुलभुलेमा पहिरोको वितण्डा: ४ घर पूर्ण विस्थापित, धादिङबेंसीका २५ सय घरधुरीमा खानेपानीको आपूर्ति रोकियो
146 पटक पढिएको
धादिङबेंसी – धादिङको नीलकण्ठ नगरपालिका-२ स्थित तल्लो भुलभुले गाउँमा पहिरोले ठूलो क्षति पुर्याएको छ। पँधेरो खोल्चा डाँडाबाट सुरु भएको पहिरोले सिंगो बस्तीलाई नै जोखिममा पारेको छ भने सदरमुकाम धादिङबेंसीतर्फ जाने मुख्य खानेपानीको पाइपलाइन पूर्ण रूपमा भत्काइदिएको छ।
पहिरोको प्रत्यक्ष चपेटामा परेर स्थानीय दिलबहादुर गुरुङको घर पूर्ण रूपमा ध्वस्त भएको छ। माथिबाट आएको लेदो र माटोको थुप्रोका कारण गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङका परिवारहरू घर छाडेर विस्थापित हुन बाध्य भएका छन्।
विस्थापित परिवारहरू यतिबेला छिमेकी तथा सुरक्षित ठाउँमा आश्रय लिएर बसिरहेका छन्।
स्थानीयका अनुसार पहिरो जाने क्रममा धादिङबेंसीमा पानी आपूर्ति गर्ने मुख्य पाइपलाइन काटिएर फुटेपछि अवस्था थप नियन्त्रणबाहिर गएको हो। फुटेको पाइपबाट तीव्र गतिमा बगेको पानीले जमिनलाई थप कमजोर र दलदले बनाएपछि पहिरो अजङ्गको रूप लिँदै बस्तीतर्फ सोझिएको थियो।

यसैबीच गाउँको अर्को भागमा रहेको नेवार खोल्छाबाट समेत नयाँ पहिरो खस्न थालेपछि भुलभुलेका बासिन्दा दोहोरो त्रासमा परेका छन्। स्थानीय भरतबहादुर गुरुङका अनुसार अहिले पूरै गाउँका करिब ४६ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्। पहिरोले बस्ती नजिकै रहेको करिब २०० रोपनी उब्जाउ खेतीयोग्य जमिन पूरै बगाएर लगानी र उब्जनी स्वाहा पारिदिएको छ।
यसबाहेक, प्रदेश सरकार र नीलकण्ठ नगरपालिकाको संयुक्त साझेदारीमा बस्ती जोगाउन निर्माण गरिएको करिब ६०० घनमिटर क्षमताको ग्याबिन पर्खाल समेत पहिरोको धक्काले ध्वस्त भएको छ।
मुख्य पाइपलाइन फुटेपछि सदरमुकाम धादिङबेंसीका करिब २,५०० घरधुरीमा खानेपानी सेवा पूर्ण रूपमा प्रभावित हुने भएको छ । सदरमुकाम धादिङबेसीमा वितरणका लागि भुलभुलेबाट खानेपानी ल्याईएको छ । दीर्घकालीन रूपमा खानेपानी आपूर्ति रोकिँदा सदरमुकामवासीको दैनिकी अस्तव्यस्त बन्ने निश्चित छ। विशेष गरी बजार क्षेत्रका घरपरिवार, व्यापारिक प्रतिष्ठान र होटेल व्यवसायमा खानेपानीको चरम अभाव देखिनेछ। यसका साथै सदरमुकामस्थित अस्पताल, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयहरूमा सरसफाइ र दैनिकी सञ्चालनमा ठूलो असर पर्नेछ। जसले गर्दा मनसुनको समयमा झाडापखाला, हैजा र अन्य पानीजन्य सरुवा रोगको महामारी फैलिन सक्ने उच्च जोखिम बढाएको छ।
प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रहरी कार्यालय धादिङको टोली, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, उपप्रमुख दीपक विश्वकर्मा तथा नीलकण्ठ खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका पदाधिकारीसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा नगर प्रमुख ढुंगानाले फुटेको मुख्य पाइपलाइन द्रुत गतिमा मर्मत गरी सदरमुकाममा खानेपानी सेवा सुचारु गराउन प्राविधिक टोली खटाइएको जानकारी दिनु भएको छ । साथै पहिरोको उच्च जोखिममा रहेका ४६ घरधुरी र विस्थापित परिवारको तत्काल सुरक्षित व्यवस्थापन एवं बस्ती संरक्षणका लागि आवश्यक राहत र दीर्घकालीन पहल थालिने प्रतिबद्धता जनानु भएको छ ।








https://shorturl.fm/LAQSJ