आज ४८औँ पुष्पलाल स्मृति दिवस मनाइँदै
192 पटक पढिएको
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशैभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष पुरुष पुष्पलालको योगदानको स्मरण गर्दै नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न वामपन्थी घटकहरूले विचार गोष्ठी, श्रद्धाञ्जली सभा तथा प्रभातफेरी जस्ता कार्यक्रमको आयोजना गरेका छन्।
विसं १९८१ असार १५ गते रामेछापको भंगेरीमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलाल महान् सहिद गङ्गालाल श्रेष्ठका भाइ हुनुहुन्छ। पारिवारिक पृष्ठभूमि र तत्कालीन निरङ्कुश जहानियाँ राणा शासनको अत्याचार नजिकबाट भोग्नुभएका पुष्पलाल सानै उमेरदेखि राजनीतिक चेतना र क्रान्तिकारी विचारबाट प्रेरित हुनुहुन्थ्यो। निरङ्कुशता विरुद्धको लडाइँलाई संगठित बनाउन उहाँले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घको गठन गर्नुभएको थियो।
नेपालमा सामन्तवाद र वैदेशिक हस्तक्षेपको अन्त्य गर्दै श्रमजीवी वर्गको हकहित स्थापित गर्नका लागि पुष्पलालकै अगुवाइमा विसं २००६ वैशाख ९ गते (२२ अप्रिल १९४९) भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पार्टी स्थापनामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यले उहाँलाई साथ दिनुभएको थियो। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित प्रसिद्ध ‘कम्युनिस्ट मेनिफेस्टो’ (कम्युनिस्ट घोषणापत्र) लाई पहिलोपटक नेपाली भाषामा अनुवाद गरेर नेपाली राजनीतिक वृत्तमा मार्क्सवादी विचारधाराको बीजारोपण गर्नुभएको थियो। यसबाहेक उहाँले विभिन्न कृति र लेखहरूमार्फत नेपाली समाजको ऐतिहासिक तथा वर्ग विश्लेषण गर्दै क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभएको थियो।
पुष्पलाल नेपाली राजनीतिमा दूरदर्शी र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिनुहुन्छ। निरङ्कुश पञ्चायती व्यवस्थालाई ढाल्नका लागि उहाँले अघि सार्नुभएको ‘संयुक्त जनआन्दोलन’ को नीति नै पछि गएर विसं २०४६ को प्रजातन्त्र पुनःस्थापनाको मुख्य आधार बनेको थियो। कांग्रेस र कम्युनिस्टहरू मिलेर आन्दोलन नगरेसम्म पञ्चायत ढल्दैन भन्ने उहाँको रणनीतिक सोच कालान्तरमा सही साबित भएको थियो। प्रवासमा रहेर पनि जीवनको अन्तिम क्षणसम्म नेपाली क्रान्ति र पार्टी पुनर्निर्माणमा निरन्तर क्रियाशील रहनुभएका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा उपचारका क्रममा निधन भएको थियो।
पुष्पलालको त्यही ऐतिहासिक योगदान र वैचारिक मार्गदर्शनलाई स्मरण गर्दै आज नेकपा (एमाले) बागमती प्रदेश कमिटीले काठमाडौँमा विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ। त्यसैगरी अन्य कम्युनिस्ट घटकहरूले पनि काठमाडौँको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्क तथा देशका विभिन्न स्थानमा उहाँको शालिकमा माल्यार्पणसहित स्मृति सभाहरू सञ्चालन गरिरहेका छन्।







