आजको मौसम: पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
117 पटक पढिएको
काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज धेरैजसो भू-भागमा बदली हुनुका साथै वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाले देशैभर मनसुनी गतिविधि सक्रिय बनेको हो।
आज दिउँसो देशभरको मौसममा बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। दिउँसोको समयमा देशका हिमाली तथा पहाडी भू-भागका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै तराई भू-भागको हकमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। विशेष गरी बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज रातिको समयमा पनि देशभरको मौसम सामान्यतया बदली नै रहनेछ। राति देशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रतर्फ कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा वर्षा हुने अनुमान गरिएको छ।
पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने र शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। साथै नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।








https://shorturl.fm/luLyu
https://shorturl.fm/zB50O