कांग्रेसभित्र फुटको सङ्कट: पालिका जनप्रतिनिधिहरूले बोलाए काठमाडौँमा राष्ट्रिय भेला

173 पटक पढिएको

८ श्रावण २०८३, शुक्रबार ०७:०८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ – नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद र सम्भावित फुटको जोखिमलाई रोक्न कांग्रेसबाट निर्वाचित गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिहरूले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने भएका छन्। पार्टीको संस्थापन इतर पक्षले आगामी साउन २९ गते राष्ट्रिय कार्यकर्ता भेला डाकेर नयाँ दल गठनको सङ्केत गरेपछि पालिकास्तरका जनप्रतिनिधिहरू पार्टी एकता कायम राख्न दबाब अभियानमा जुटेका हुन्।

स्थानीय तहमा निर्वाचित मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरूलाई काठमाडौँमा उतारेर पार्टी नेतृत्वलाई एकताबद्ध हुन सशक्त दबाब दिने रणनीति बनाइएको छ। काठमाडौँको गोकर्ण रिसोर्टमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा बसेको नगर तथा गाउँपालिका प्रमुखहरूको बैठकले आगामी साउन १६ गते राष्ट्रिय भेला आह्वान गर्ने औपचारिक निर्णय गरेको हो। बैठकले शीर्ष नेताहरूबीच मिल्न नसक्नुका कारणबारे शुक्रबार बिहानैदेखि प्रत्यक्ष भेट गरी छलफल चलाउने र पार्टी जोगाउन दबाब दिने निष्कर्ष समेत निकालेको छ।

पार्टी एकता र सुदृढीकरणका लागि सुरु गरिएको यो दबाब अभियानको नेतृत्व नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले सम्हालेका छन्। अभियानको सहसंयोजकमा गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई जिम्मेवारी दिइएको छ। यसै गरी मञ्च तथा जनसम्पर्क व्यवस्थापनमा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, स्रोत व्यवस्थापनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र प्रचारप्रसारको जिम्मेवारी सरोज अधिकारीलाई सुम्पिएको छ।

अभियानका संयोजक भीमप्रसाद ढुंगानाका अनुसार कुनै गुट वा समूह विशेषको हितभन्दा माथि उठेर सिङ्गो पार्टी बचाउने मुख्य उद्देश्यका साथ देशभरका जनप्रतिनिधिलाई काठमाडौँ उतारिन लागिएको हो। पार्टीलाई मिलाउने साझा विन्दु पहिल्याउनका लागि शुक्रबारदेखि नै पार्टी सभापति गगन थापासहितका शीर्ष पदाधिकारी र असन्तुष्ट पक्षका नेताहरूसँग गहन संवाद गरिने उनले जानकारी दिएका छन्। यस्तै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले तल्लो तहका आम शुभेच्छुक र कार्यकर्ता पार्टी फुटेको हेर्न नचाहने भएकाले उनीहरुकै भावनाको प्रतिनिधित्व गर्दै दबाबमूलक कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।

काठमाडौँमा हुने राष्ट्रिय भेलालाई व्यवस्थित बनाउन सातै प्रदेशमा समन्वयात्मक बैठक आयोजना गर्ने तयारी समेत भइरहेको छ। कागेश्वरी मनोहराका प्रमुख उपेन्द्र कार्कीका अनुसार शीर्ष नेताहरूबीच नमिलेका विवादित विषयहरूमाथि छलफल गरी स्पष्ट विकल्पसहितको मिलन विन्दु प्रस्तुत गर्ने र एउटा साझा दस्तावेज समेत सार्वजनिक गरिनेछ। भेलाका लागि काठमाडौँको राष्ट्रिय सभागृह वा प्रज्ञा–प्रतिष्ठानमध्ये एक स्थान चयन गरिने गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले जानकारी दिएका छन्।

गोकर्ण रिसोर्टमा आयोजित प्रारम्भिक बैठकमा सातै प्रदेशका करिब २० जना नगर प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकमा जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह, कैलालीको गोदावरीका विरेन्द्र भट्ट, कालिकोटको तिलागुफाका शंकर उपाध्याय, दोलखाका लवश्री न्यौपाने, नुवाकोटको विदुरका राजन श्रेष्ठ, खोटाङको हलेसीकी विमला राई, तनहुँको भानुका आनन्द त्रिपाठी, चितवनको रत्ननगरका प्रलाद सापकोटा, कीर्तिपुरका कृष्णमान डङ्गोल, ललितपुरको गोदावरीका गजेन्द्र महर्जन र मध्यपुर थिमिका सुरेन्द्र श्रेष्ठलगायतका जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।