देशभर मनसुनी वायुको प्रभाव: छ प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
96 पटक पढिएको
धादिङ न्यूज
बुधबार, १३ साउन, २०८३
काठमाडौँ – हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले देशका विभिन्न भूभागमा वर्षाको गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान वरपर तथा पश्चिम भूभागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले वर्षाको सम्भावना बढेको हो। अहिले बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ भने बाँकी भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको अवस्था छ।
आज दिउँसो देशका अधिकांश पहाडी तथा हिमाली भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानका साथै सुदूरपश्चिमका तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत प्रक्षेपण गरिएको छ।
आज राति पनि देशभरको मौसम मुख्यतया बदली नै रहने अनुमान महाशाखाले गरेको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ। बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। पहाडी तथा भिरालो भूभागमा पहिरो र गेग्रान बहावको जोखिम रहनुका साथै नदीनालामा जलसतह बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।







