धादिङसहित ३१ जिल्लामा बाढीको उच्च जोखिम: महाशाखाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
109 पटक पढिएको
काठमाडौँ । देशका विभिन्न भागमा निरन्तर भइरहेको वर्षाका कारण धादिङसहित ३१ वटा जिल्लामा बाढी तथा पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव र स्थानीय जलवाष्पयुक्त हवाका कारण नदी तथा खोलाहरूमा बहाव तीव्र रूपमा बढ्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।
जोखिमको सूचीमा बागमती प्रदेशका धादिङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट रहेका छन्। त्यस्तै पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सङ्खुवासभामा पनि बाढीको त्रास बढेको छ। गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ र म्याग्दी तथा कर्णालीको हुम्ला जिल्ला बाढीको जोखिममा परेका छन्। त्यसैगरी सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लाका नदी तथा खोला आसपासका क्षेत्रमा बाढी र पहिरोको सम्भावना उच्च रहेको छ।
महाशाखाका अनुसार देशका प्रमुख नदीहरू नारायणी, कर्णाली, महाकाली र बागमतीका साथै तिनका सहायक नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। यद्यपि हाललाई कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। तर निरन्तरको वर्षाका कारण जुनसुकै बेला जलसतह खतराको विन्दुभन्दा माथि जान सक्नेछ। विशेषगरी महाकाली नदी तटीय क्षेत्रमा सबैभन्दा बढी जोखिम रहेकाले त्यस आसपासका बस्तीका बासिन्दालाई विशेष सजगता अपनाउन महाशाखाले आग्रह गरेको छ।
बाढी र पहिरोको सम्भावित क्षति न्यूनीकरणका लागि महाशाखाले सम्बन्धित पालिका, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूलाई नदीको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ। जोखिमयुक्त समुदायलाई समयमै सूचना प्रवाह गरी सुरक्षित स्थानमा सार्न र उद्धार तथा राहतका लागि आवश्यक पूर्वतयारी कायम राख्न अनुरोध गरिएको छ। लगातारको वर्षाले पहाडी भू-भागमा पहिरो जाने र भिरालो जमिन भासिने खतरासमेत रहने भएकाले राजमार्ग तथा ग्रामीण सडकहरूमा यात्रा गर्दा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
वर्षाको अवस्था र नदीको बहावमा आउने परिवर्तनका आधारमा जोखिम अझै थपिन सक्ने भएकाले सर्वसाधारणलाई जथाभावी नदी आसपास नजान र अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ। बाढीसम्बन्धी अद्यावधिक र आधिकारिक जानकारी नियमित रूपमा लिन तथा कुनै पनि आपतकालीन अवस्थामा खबर गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोल फ्री नम्बर ११५५ वा नजिकैको प्रहरी कार्यालय (१००) मा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।








Hmm, the focus on mobile convenience is clear, but remember, even with slick sites like the one described, always verify those withdrawal details first. For peace of mind, check out 234win 444 download apk. Stay cautious online!