धादिङ १ बाट निर्वाचित सांसद आशिका तामाङ विरुद्ध १ करोड ३५ लाखको फर्जी चेक र चरित्रहत्या आरोपमा साइबर ब्युरोमा उजुरी

228 पटक पढिएको

१७ श्रावण २०८३, आईतवार ०८:२७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ। धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य आशिका तामाङविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा चरित्रहत्या तथा विद्युतीय अपराधसम्बन्धी औपचारिक उजुरी दर्ता भएको छ। हाल अमेरिकामा बसोबास गर्दै आएकी  कुस्मा बुढाथोकीका पति सुसन तिवारीले साइबर उजुरी नम्बर–६१६ मार्फत  ब्युरोमा एक साता अघि सो उजुरी दर्ता गराएका हुन ।

उजुरीमा सांसद तामाङले सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितको सामाजिक प्रतिष्ठामा आँच पुर्‍याएको, चरित्रहत्या गरेको र भ्रम फैलाएको आरोप लगाइएको छ। विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कम्प्युटर, मोबाइल वा सामाजिक सञ्जालमार्फत कसैको प्रतिष्ठामा आँच पुर्‍याउने, जिस्क्याउने वा भ्रम फैलाउने कार्य गरेमा कानुनबमोजिम १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद अथवा दुवै सजाय हुने व्यवस्था छ। उजुरी दर्तापछि अनुसन्धानका लागि ब्युरोले सम्पर्क गर्दा सांसद तामाङले आफ्ना स्वकीय सचिव दिलीप उप्रेतीमार्फत कुरा गर्न आग्रह गरेको प्रहरी स्रोतले जनाएको छ।

यसै घटनासँगै बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ सँग जोडिएको ठूलो वित्तीय अपराधको पाटोसमेत बाहिर आएको छ। पीडित पक्षका अनुसार सांसद तामाङसँग कुनै पनि किसिमको व्यावसायिक वा व्यक्तिगत लेनदेन नरहेको अवस्थामा बुढाथोकीको नाममा रहेको निष्क्रिय बैंक खाताको चेक प्रयोग गरी सांसद तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरिएको थियो। सानिमा बैंकको सीतापाइला शाखामा पेस गरिएको उक्त चेक खातामा पर्याप्त रकम नभएपछि असार २४, २०८३ मा बाउन्स भएको थियो। त्यसपश्चात् बैंकले ४५ दिनभित्र रकम भुक्तानी नगरे मुलुकी अपराध संहिता, २०७४ र बैंकिङ कसूर ऐनअनुसार कानुनी कारबाही अघि बढाउने चेतावनीसहितको इमेल बुढाथोकीलाई पठाएको छ।

पीडित परिवारले १ करोड ३५ लाख रुपैयाँको चेकका साथै १ करोड ८५ लाख रुपैयाँको अर्को चेकसमेत फर्जी हस्ताक्षर गरी बाउन्स गराइएको दाबी गरेको छ। निष्पक्ष अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिन खोज्दा सुरुमा आनाकानी गरिएकाले पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), गृह मन्त्रालयको गुनासो शाखा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत निवेदन दिएको बताएको छ।

घटनामा झापाका जीवनप्रसाद बाँस्कोटा र स्वकीय सचिव भनिएका दिलीप उप्रेतीको भूमिकासमेत शंकास्पद रहेको आरोप लगाइएको छ। क्यान्सर पीडित डम्बरबहादुर बुढाथोकीको उपचार खर्च जुटाइदिने बहानामा रकम उठाइएको र राजनीतिक पहुँचको आडमा फर्जी चेक जारी गराई मानसिक तनाव दिइएको पीडितको भनाइ छ। आरोपित बाँस्कोटाले भने विषय प्रहरी अनुसन्धानमा रहेको भन्दै ठगी र कीर्तेका आरोपहरू अस्वीकार गरेका छन्। प्रहरीले विद्युतीय अपराध र बैंकिङ जालसाजी दुवै विषयमा अनुसन्धान दायरा फराकिलो बनाएको जनाएको छ।