‘मल अभाव छैन’ भन्ने सांसदको दाबी हचुवा: गल्छीका किसान भने युरियामल नपाएर मारमा

187 पटक पढिएको

१९ श्रावण २०८३, मंगलवार १५:१२ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गल्छी गाउँपालिकाका  अधिकांश खेतहरूमा रोपाईं सकिएर  मल हाल्ने चटारो सुरु भएको छ। मकै, धान, तरकारी, गहुँ तथा कोदो खेतीका लागि रासायनिक मल नभई नहुने वस्तु हो। तर, बालीमा मल हाल्ने मुख्य सिजनमै गल्छीका किसानहरूले भने पर्याप्त युरिया मल पाउन सकेका छैनन्।

किसानहरू  धानमा हाल्ने युरिया मल नपाएर भौँतारिरहेका बेला धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  आशिका तामाङले भने सामाजिक सञ्जाल फेसबुकमार्फत ‘जिल्लामा मल पर्याप्त रहेको भन्दै अभिव्यक्ति दिएकी छन्। जिल्लाभर वितरणका लागि एकीकृत रूपमा गोदाम गरिएको मलको दृश्य देखाएर सांसदले गाउँ-गाउँको वास्तविक समस्यामाथि आँखा चिम्लिएको र सस्तो लोकप्रियताका लागि भ्रम फैलाएको गल्छीका किसानहरूको आरोप छ।

हरेक गाउँ र वडामा कुन मल कति चाहिन्छ र कति आपूर्ति भएको छ भन्ने यथार्थ विवरण नै नबुझी सांसद तामाङले फेसबुकमा प्रचार गर्दा किसानहरूमाझ झन् ठूलो भ्रम र अन्योल सिर्जना भएको गल्छी–६ का  राजकुमार रिमाल बताउनुहुन्छ। वर्षौँदेखि अति आवश्यक परेको सिजनमा सहजै मल नपाउने नियति भोग्दै आएका गल्छी–६ सिम्लेका किसान प्रदीप खनाल पनि नेताहरूले सामाजिक सञ्जालमा जतिसुकै दाबी गरे पनि गाउँको वास्तविक धरातल र किसानको सास्ती उस्तै रहेको दुःखेसो पोख्नुहुन्छ।

यता गल्छी गाउँपालिका कृषि शाखा प्रमुख किरण गिरीका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडबाट प्राप्त भएको मल गाउँपालिकामा मलखाद बिक्रीवितरणका लागि डिलर लिएका कृषि सहकारी संस्थाहरू मार्फत बिक्रीवितरण गर्ने गरिएको छ। स्थानीय तह मल वितरण व्यवस्थापन समितिको निर्णय अनुसार नै मलखादको कोटा तोकिने र सोही तोकिएको समयमा मलखाद उठाई नियमानुसार ८ वटै वडामा समावेशी र न्यायोचित ढङ्गले वितरण भइरहेको उहाँले जानकारी दिनुभयो।

साथै तोकिएको ढाँचामा भरपाइ तयार पारेर सहकारीले वितरण गर्ने हुँदा एउटै व्यक्ति दोहोरिने सम्भावना कम हुने स्पष्ट पार्दै शाखा प्रमुख गिरीले किसानले मागे जति मल केन्द्रबाट नआउँदा नै सधैँभरि अभावको समस्या देखिने गरेको बताउनुभयो।

तथ्याङ्क हेर्ने हो भने गल्छी गाउँपालिकामा यो सिजनका लागि मात्रै ३ हजार ५ सय बोरा मल आवश्यक पर्दछ। जसमध्ये सबैभन्दा बढी माग हुने युरिया मल ५२५ मेट्रिक टन चाहिनेमा कृषि सामग्री केन्द्रले हालसम्म ३६१ मेट्रिक टन मात्र उपलब्ध गराएको छ। त्यस्तै, यस सिजनका लागि २६५ मेट्रिक टन माग रहेको डिएपी मल २६१ मेट्रिक टन प्राप्त भएको छ भने माग खासै नरहेको पोटास १३३ मेट्रिक टन प्राप्त भई वितरण भइसकेको छ।

गल्छी गाउँपालिकाभर वर्षभरिमा कुल १० हजार २ सय बोरा मल आवश्यक पर्ने भए पनि आपूर्ति गर्ने निकाय कृषि सामग्री केन्द्रले वर्षभरिमा ७ हजार बोराभन्दा बढी मल दिन नसकेको तथ्याङ्कले स्पष्ट पार्छ। गाउँपालिकाका ८ वटा वडामा गरी हजारौँ किसानहरू व्यावसायिक तथा निर्वाहमुखी खेतीमा संलग्न छन्। जस अनुसार वडा नम्बर १ मा ८६६, वडा नम्बर २ मा ६७१, वडा नम्बर ३ मा ३२५, वडा नम्बर ४ मा ६४८, वडा नम्बर ५ मा ७२६, वडा नम्बर ६ मा ४३३, वडा नम्बर ७ मा ५९२ र वडा नम्बर ८ मा ७९७ जना किसानहरू प्रत्यक्ष रूपमा खेतीपाती गरिरहेका छन्।

गाउँपालिकाभित्रका ११ वटा सहकारी संस्थामार्फत ८ वटै वडामा मल वितरणको व्यवस्था मिलाइएको छ। यसअघि केही सहकारीले आफ्ना सेयर सदस्य बाहेक अन्य साधारण किसानलाई मल दिन अस्वीकार गरेपछि गाउँपालिकाको कृषि शाखाले त्यस्ता संस्थालाई सचेत गराएको थियो। हाल सो विभेद हटे पनि समग्रमा गल्छीका लागि युरिया मलको आपूर्ति नै मागभन्दा निकै कम भएकाले किसानहरूले सधैँझैँ यसपालि पनि मुख्य सिजनमै सास्ती खेप्न बाध्य भएका छन्।