नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भदौ दोस्रो साता बस्ने तयारी, पार्टी पुनर्गठन प्रतिवेदन अझै ‘अलपत्र”
148 पटक पढिएको
काठमाडौँ, २७ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी भदौ दोस्रो सातासम्म केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी थालेको छ। पार्टी पुनर्गठनसम्बन्धी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन मस्यौदा अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि रोकेर राखेका बेला केन्द्रीय कमिटी बैठकको गृहकार्य अघि बढाइएको हो।
केन्द्रीय कमिटीको औपचारिक बैठक आह्वान गर्नुअघि भदौ पहिलो साता सचिवालय बैठक बोलाउने र त्यसपछि केन्द्रीय कमिटी बैठकको कार्यसूची तथा मिति तय गर्ने विषयमा अध्यक्ष ओलीले पार्टीभित्र आन्तरिक छलफल तीव्र बनाउनुभएको छ। अध्यक्ष ओली निकट स्रोतका अनुसार केन्द्रीय कमिटीको बैठकअघि उहाँले पार्टीका वरिष्ठ पदाधिकारीहरूसँग छुट्टै परामर्श गर्ने योजना बनाउनुभएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले पनि केन्द्रीय कमिटीको बैठक बस्नुअघि सचिवालयको बैठक बसेर औपचारिक मिति तोकिने जानकारी दिनुभयो। तर अहिलेसम्म सचिवालय बैठकको मिति समेत तय भइनसकेकाले भदौ दोस्रो सातालाई लक्षित गरी तयारी अघि बढाइएको उहाँको भनाइ छ।
यस बीचमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको कार्यदलले तयार पारेको पार्टी पुनर्गठन सम्बन्धी प्रतिवेदन भने अध्यक्ष ओलीको असहमति र अनिच्छाका कारण अलपत्र परेको छ। महासचिव शंकर पोखरेल सदस्यसचिव रहेको उक्त कार्यदलमा पोखरेलले नै प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार पारेर संयोजक बादललाई सुम्पेका थिए। संयोजक बादलले उक्त मस्यौदा अध्ययनका लागि अध्यक्ष ओलीसमक्ष पेश गरे पनि ओलीले लामो समयदेखि त्यसलाई अगाडि नबढाई ‘होल्ड’ गरेर राख्नुभएको छ। अध्यक्षले मस्यौदा रोकेकै कारण कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको छैन।
कार्यदलका सदस्यहरूले प्रतिवेदनलाई अन्तिम रूप दिनका लागि तत्काल बैठक बोलाउन संयोजक बादललाई पटक-पटक ताकेता गरे पनि उहाँले बैठक डाक्न चासो देखाउनुभएको छैन। कार्यदलका सदस्यहरूका अनुसार अध्यक्ष ओलीलाई प्रतिवेदनमा उल्लिखित कतिपय विषय र विशेष गरी ‘समग्र पार्टी पुनर्गठन’ भन्ने शब्दप्रति गम्भीर असन्तुष्टि रहेको छ। देशैभरबाट सुझाव सङ्कलन गर्दा तल्लो तहका कार्यकर्ता र नेताहरूले समग्र पार्टीको पुनर्गठन हुनुपर्ने जोडदार माग राखेकाले मस्यौदामा सोही शब्द समावेश गरिएको थियो। तर ‘समग्र पुनर्गठन’ को अर्थ वर्तमान शीर्ष नेतृत्वको बहिर्गमनसँग जोडिने भएकाले अध्यक्ष ओली यसप्रति सशङ्कित हुनुभएको स्रोतको दाबी छ।
पार्टीभित्र पछिल्लो समय एमालेलाई नयाँ गति दिन र पुनर्गठन गर्नका लागि ओलीसहितका पुराना नेताहरूले अभिभावकीय भूमिकामा बसेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठ्दै आएको छ। तर गत मङ्सिरमा सम्पन्न महाधिवेशनबाट विधिसम्मत रूपमा निर्वाचित भई नेतृत्वमा आएकाले म्याद बाँकी छँदै पद छाड्न अध्यक्ष ओली कुनै पनि हालतमा तयार हुनुहुन्न। आफू निकट नेताहरूसँगको छलफलमा ओलीले महाधिवेशनबाट चुनिएको वैधानिक नेतृत्वलाई कुबेलामा छाड्नुको कुनै औचित्य नरहेको भन्दै आफ्नो स्थान सुरक्षित रहने गरी मात्र सांगठनिक फेरबदल हुनसक्ने स्पष्ट सन्देश दिनुभएको छ। यही आन्तरिक खिचातानीका बीच भदौमा बस्ने भनिएको सचिवालय र केन्द्रीय कमिटी बैठकले कार्यदलको प्रतिवेदन र पार्टी पुनर्गठनको भावी दिशाबारे के निर्णय गर्छ भन्ने विषयलाई एमालेभित्र निकै चासोका साथ हेरिएको छ।







