धादिङका ईश्वर थापासहित मुस्ताङमा शङ्कास्पद कन्टेनरसँगै आठ चालक पक्राउ

249 पटक पढिएको

३१ श्रावण २०८३, आईतवार ०७:०७ सम्पादक: धादिङ न्यूज

मुस्ताङ । धादिङको थांक्रे गाउँपालिका–२ का ईश्वर थापासहित आठ जना चालकलाई मुस्ताङमा शङ्कास्पद कन्टेनरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक जाँच चौकीबाट प्रहरीले आठवटा कन्टेनरसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका कन्टेनर र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो करिब १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको सूचनाका आधारमा जोमसोम पर्यटक जाँच चौकीमा विभिन्न कन्टेनरका कागजपत्र जाँच गर्नुका साथै चालकसँग सोधपुछ गरेको थियो ।

जाँचका क्रममा ती कन्टेनर भन्सार यार्डमा चेकजाँच नगराई सिधै सिल लगाएर ल्याइएको पाइएपछि कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशङ्का गरिएको थियो । त्यसपछि प्रहरीले आठवटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ना ६ ख ४७४१ नम्बरको कन्टेनरका चालक धादिङको थांक्रे गाउँपालिका–२ का करिब ३० वर्षीय ईश्वर थापा रहेका छन् । त्यस्तै, को १ ख ५६९६ का चालक दोलखाको शैलुङ गाउँपालिका–३ का करिब ४३ वर्षीय रत्नबहादुर तामाङ र बा प्र ०१–००६ ख २२४८ का चालक दोलखाको भीमेश्वर नगरपालिका–८ का करिब २९ वर्षीय उद्दव बस्नेत रहेका छन् ।

त्यसैगरी बा प्र ०१–००६ ख ६२७३ का चालक पाल्पाको तानसेन नगरपालिका–८ का करिब ३६ वर्षीय धर्मबहादुर नेपाली, ना ३ ख ७१६० का चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का करिब ३५ वर्षीय कर्म शेर्पा र ना ६ ख २०२२ का चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का करिब ३३ वर्षीय निरोज नेपाली रहेका छन् ।

बा प्र ०१–००६ ख ६६११ का चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ का करिब २३ वर्षीय विशाल तामाङ र बा प्र ०१–००५ ख २२४५ का चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका करिब ३६ वर्षीय गोपाल श्रेष्ठ पनि नियन्त्रणमा परेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका आठवटै कन्टेनर र चालकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाएको जनाएको छ । कन्टेनरभित्र के–कस्ता वस्तु रहेको छ भन्नेबारे राजस्व अनुसन्धान कार्यालयले थप जाँच तथा अनुसन्धान गर्नेछ ।