सर्पको डसाईबाट २२ वर्षीय दृष्टिविहीन सुनिल चेपाङको निधन

227 पटक पढिएको

८ भाद्र २०८३, सोमबार ०९:०० सम्पादक: धादिङ न्यूज

धादिङ, ८ भदौ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, आदामारा निवासी २२ वर्षीय दृष्टिविहीन सुनिल चेपाङको  सर्पको डसाईबाट निधन भएको छ। रातिको समयमा  सर्पले डसेपछि उनको उपचारको क्रममा ज्यान गएको हो।

दृष्टिविहीन सुनिलको संसारमा अन्धकार हटाउन परिवारले निकै ठूलो सङ्घर्ष गरेको थियो। उनको आँखाको ज्योति पुनः फर्काउन सकिन्छ कि भन्ने ठूलो आशा र विश्वाससहित परिवारले यसअघि देशका विभिन्न अस्पतालहरूमा पुर्‍याएर उपचार गराउने प्रयास गरेका थिए।

आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि परिवारले सुनिलको उपचार र सहयोगका लागि चर्चित टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ सम्म पनि पुर्‍याएको थियो। समाजबाट केही सहयोगको अपेक्षा गरेर छोराको उपचार गराउने परिवारको तीब्र चाहना थियो।

घटनाको पुष्टि गर्दै बेनीघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतले सुनिलको निधनले सिङ्गो वडा र गाउँ नै शोकमा डुबेको बताएका छन्। उनले भने, “छोराको दृष्टिविहीनता हटाउन भौंतारिरहेको परिवारमाथि सर्पदंशको यो बज्रपातले हामी सबैलाई स्तब्ध बनाएको छ।”

आँखाको ज्योति फर्काउने परिवारको अथक प्रयास र सपना साकार हुन नपाउँदै अचानक घटेको यो दुःखद घटनाले आदामारा गाउँ शोकमा डुबेको छ। गरिबी, अपाङ्गता र त्यसपछि अचानक आएको यो विपत्तिले सुनिलको परिवारलाई मर्माहत बनाएको छ। स्थानीय बासिन्दाहरूले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै सम्बन्धित निकायबाट परिवारलाई उचित राहत र सहयोगको माग गरेका छन्।