भारतमा आयोजित थर्ड मास्टर्स ब्याडमिन्टनमा धादिङका विष्णुलाल श्रेष्ठको जोडी प्रथम

126 पटक पढिएको

८ भाद्र २०८३, सोमबार ०९:२४ सम्पादक: धादिङ न्यूज

धादिङ । भारतको महाराष्ट्रस्थित पुनामा आयोजना भएको ‘थर्ड मास्टर्स ब्याडमिन्टन प्रतियोगिता’मा नेपालका ब्याडमिन्टन खेलाडी धादिङका विष्णुलाल श्रेष्ठको जोडी प्रथम हुन सफल भएको छ।

यही २०८३ भदौ ५ देखि ७ गतेसम्म सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताको ‘मेन्स डबल १३०+’ विधामा नेपालका विष्णुलाल श्रेष्ठ र कालिम्पोङका नील रानाको जोडीले स्वर्ण पदक (प्रथम स्थान) हासिल गरेको हो। रोमाञ्चक फाइनल खेलमा श्रेष्ठ र रानाको जोडीले हैदराबादका रमेश बिट्ला र रमेश सांगवारको जोडीलाई १५-९, १०-१५ र १५-१३ को निर्णायक सेटमा पराजित गरेको थियो।

३५+ देखि ८०+ सम्मका विभिन्न उमेर समूह र जोडी उमेर (८०+ देखि १५०+) का विधामा सञ्चालित प्रतियोगितामा नेपालसहित भारतका १५ वटा राज्यका खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा नेपालबाट ३ जना खेलाडीको सहभागिता रहेको थियो। जसअन्तर्गत ‘मेन्स डबल १४०+’ मा नेपालका रमेश भट्टचन र दान बहादुर तामाङको जोडी, ‘मेन्स डबल १२०+’ मा विष्णुलाल श्रेष्ठ र नील राना तथा ‘मिक्स डबल’मा विष्णुलाल श्रेष्ठ र पुनाकी डा. रमा गौतमको जोडी क्वाटरफाइनलसम्म पुग्न सफल भएका थिए।

विजेता खेलाडी विष्णुलाल श्रेष्ठले खेल अवधिभर टोलीको व्यवस्थापन एवं प्रशिक्षक/व्यवस्थापकको भूमिका निर्वाह गर्ने रमेश भट्टचन, यात्रा सहज बनाइदिने नील राना र दर्ता प्रक्रियामा सहयोग गर्ने डा. रमा गौतमप्रति विशेष आभार व्यक्त गरेका छन्।