भोटेकोशी बाढीको महाविनाश: ४५० मेगावाट विद्युत् ठप्प, २२ पक्की पुल ध्वस्त, सञ्चार र बैंकिङ सेवा अस्तव्यस्त

153 पटक पढिएको

११ भाद्र २०८३, बिहीबार ००:३८ सम्पादक: धादिङ न्यूज

धादिङ । चीनको सीमावर्ती क्षेत्र रसुवागढी हुँदै आएको भीषण भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजना, सडक, पुल, सञ्चार तथा बैंकिङ क्षेत्रमा खर्बौँको भौतिक क्षति पुगेको छ।

सडक विभागका अनुसार बाढीले रसुवागढीदेखि धादिङको गल्छी क्षेत्रसम्मका २२ वटा पक्की पुल र ५ वटा बेलिब्रिज पूर्ण रूपमा बगाएको छ। बेत्रावती-रसुवागढी ४० किलोमिटर सडक खण्ड पूरै क्षतविक्षत भएको छ। साथै, गोरखा-धादिङ जोड्ने धवादीघाट र धादिङ-चितवन जोड्ने सिलिङटारको झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।

बाढीका कारण उत्पादनरत ४३१.१ मेगावाटका १२ वटा जलविद्युत् आयोजना र २५ मेगावाटको सोलार आयोजना राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएका छन्। निर्माणाधीन ४७० मेगावाटका १५ आयोजना तथा २१६ मेगावाटको अपर त्रिशूली-१ लगायतका आयोजनामा कार्यरत दर्जनाैँ स्वदेशी तथा विदेशी कर्मचारी सम्पर्कविहीन छन्। त्रिशूलीस्थित २२० केभी सबस्टेसन बगरमा परिणत भएको छ भने रसुवामा बिजुली आपूर्ति पूर्ण ठप्प छ।

रसुवाको टिमुरेस्थित भन्सार यार्डमा रहेका करिब ३ सय गाडी बाढीले बगाएको छ। यसैगरी, प्रभावित क्षेत्रमा माछापुच्छ्रे, नबिल, सानिमा, हिमालयनलगायत वाणिज्य, विकास र वित्त कम्पनीका १८ भन्दा बढी बैंक शाखाहरू डुबान तथा बाढीको चपेटामा परेका छन्। बैंक तथा भन्सारका दर्जनौँ कर्मचारी अझै सम्पर्कमा आएका छैनन्।

 विद्युत् आपूर्ति बन्द र अप्टिकल फाइबर काटिँदा नेपाल टेलिकमका ३५ (रसुवामा ८, नुवाकोटमा १५ र धादिङमा १२) तथा एनसेलका २७ वटा टावर ठप्प भएका छन्। सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रका स्थानीय र उद्धार टोलीबिच सम्पर्क हुन सकेको छैन।