त्रिशूलीबाट धादिङबेसी आईपुगेका बारा–पर्साका मजदूरलाई निलकण्ठ–३ काे अगुवाइमा माइक्रो रिजर्भ गरेर पठाईयो
63 पटक पढिएको
धादिङबेसी- नुवाकोटको त्रिशूली क्षेत्रमा मजदूरी तथा अन्य काम गर्दै आएका बारा र पर्सा जिल्लाका १३ र भारतका ३ जना समेत १६ जना मजदुरलाई निलकण्ठ नगरपालिका वडा नम्बर ३ ले उद्धार गरी गन्तव्यतर्फ पठाएर सराहनीय काम गरेको छ।
भोटेकोशीमा आएको बाढीका कारण रोजगारी गुमेको र थप जोखिम हुन सक्ने डरले उनीहरू नुवाकोटबाट धादिङ हुँदै घर फर्किन लागेका हुन्। त्रिशूलीबाट सामरी भञ्ज्याङ र धुवाँकोट हुँदै आइतबार दिउँसो धादिङबेसी आइपुगेका ती मजदूरहरूलाई निलकण्ठ वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठको विशेष पहलमा सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको हो।
धादिङबेसी आइपुगेका श्रमिकहरूलाई वडाध्यक्ष श्रेष्ठको पहलमा माइक्रोबसरिजर्भ गरी गोरखा, आबुखैरेनी र मुग्लिन हुँदै नारायणघाटसम्म पठाउने व्यवस्था मिलाइएको हो। संकटको समयमा जोखिममा रहेका श्रमिकहरूलाई सुरक्षित र सहज ढङ्गले घर फर्कने वातावरण मिलाएपछि स्थानीयवासी तथा श्रमिकहरूले वडाध्यक्ष श्रेष्ठ र वडा कार्यालयको यो मानवीय कार्यको चौतर्फी प्रशंसा गरेका छन्।







