रुवीभ्याली गाउँपालिकाद्वारा भोटेकोशी बाढीबाट मृतक तथा बेपत्ता परिवारलाई ५० हजार सहयोग

77 पटक पढिएको

२३ भाद्र २०८३, मंगलवार १३:१६ सम्पादक: धादिङ न्यूज

धादिङ। भाद्र १० गते चीनतर्फबाट आएको भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित रुवी भ्याली गाउँपालिकाका परिवारलाई स्थानीय सरकारले राहत तथा सहयोग उपलब्ध गराउने भएको छ।

गाउँ कार्यपालिकाको भर्चुअल बैठकले बाढीमा परी ज्यान गुमाएका तथा हालसम्म सम्पर्कविहीन रहेका नागरिकका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। बाढीका कारण अभिभावक गुमाएका वा अभिभावक बेपत्ता भएका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले थप ५० हजार रुपैयाँ शैक्षिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको गाउँपालिकाले जनाएको छ।

यस्तै, बाढीपछि बेपत्ता रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय र पहल गर्ने निर्णय बैठकले गरेको छ।

गाउँपालिका अध्यक्ष रामसिंह तामाङले विपद्बाट प्रभावित परिवारलाई स्थानीय सरकारका तर्फबाट तत्काल आवश्यक राहत र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिने बताउनुभयो।