गलौंदीका बाढीपीडितलाई शितल छहारी नेपालको दुई लाख बराबरको गैरखाद्यान्न सहयोग

112 पटक पढिएको

२४ भाद्र २०८३, बुधबार २१:१६ सम्पादक: धादिङ न्यूज

धादिङ, २४ भदौ । भोटेकोशी बाढीबाट प्रभावित गजुरी गाउँपालिका वडा नम्बर ५ गलौंदीका १४ परिवारलाई करिब दुई लाख रुपैयाँ बराबरको राहत तथा अत्यावश्यक घरायसी सामग्री वितरण गरिएको छ। शितल छहारी नेपाल र लायन्स अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ को संयुक्त सहकार्यमा उक्त सहयोग प्रदान गरिएको हो।

गजुरी गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्द लामिछानेको रोहवर तथा वडा कार्यालयको सिफारिसप्राप्त बाढीपीडितहरूलाई बुधबार सो सामग्री हस्तान्तरण गरिएको हो। बाढी प्रभावित परिवारका लागि १५ थान पालसायर टेन्ट, १४ सेट डसना, तकिया, तन्ना, पानीको जार, लुगा धुने बाटा, खानेपानीको जग, चपिङ बोर्ड, चक्कु, आलु ताछ्ने औजार, पानीका बोतलसहित ६० वटा ब्रस र ३५० पिस मास्कलगायतका सामग्री हस्तान्तरण गरिएको थियो।

शितल छहारी नेपालका अध्यक्ष कृष्णबद्री पौडेल, उपाध्यक्ष बिक्रम पौडेल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, लायन्स अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ का रिजनल चेयर पर्सन कृष्णप्रसाद ढकाल ‘शिशिर’, अनलाइन मिडिया सोसाइटी धादिङका अध्यक्ष केशव अधिकारी, पैरवी अनलाइनका निर्देशक श्याम मग्राती र त्रिकोण खबरका सम्पादक ईश्वर थापा मगरलगायतका व्यक्तित्वहरूको आतिथ्यता तथा सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो।

बाढीपीडितहरूलाई विभिन्न निकायबाट खाद्यान्न सहयोग भए पनि दैनिक जीवनयापनका लागि अत्यावश्यक पर्ने गैरखाद्यान्न सामग्रीको अभावमा दैनिकी कष्टकर बन्दै गएकाले आफूहरूले यसपटक फरक किसिमको राहत उपलब्ध गराएको संस्थाका अध्यक्ष कृष्णबद्री पौडेलले जानकारी दिनुभयो। साथै, राहत सामग्री जुटाउन तथा वितरणको निम्ति समन्वय गरिदिएकोमा उहाँले पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी र रिजनल चेयर पर्सन कृष्णप्रसाद ढकालप्रति विशेष धन्यवादसमेत व्यक्त गर्नुभयो। बाढी तथा विपद्बाट प्रभावित नागरिकको आवश्यकताअनुसार आफ्नो संस्थाको यस्तो सहयोग आगामी दिनमा पनि निरन्तर जारी रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।