पृथ्वी राजमार्गको कृष्णभीर खण्ड भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

57 पटक पढिएको

२९ भाद्र २०८३, सोमबार ०७:३९ सम्पादक: धादिङ न्यूज

धादिङ, २९ भदौ: त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण सडक भासिएर पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर खण्ड भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। सडक विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी भदौ ३१ गते देखि सो सडक दुईतर्फी रूपमा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाएको छ।

मिति २०८३ साल भदौ १० र १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रूपमा बगाएको थियो। त्यसयता सडक विभागले आवश्यक स्रोत, साधन, जनशक्ति र उपकरणहरूको अधिकतम परिचालन गरी नयाँ ट्रायक निर्माण तथा सडक पुनर्स्थापनाको कार्य निरन्तर रूपमा अघि बढाइरहेको छ।

निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै आज मिति भदौ २८ गते निर्माणधीन ट्रायकको अवस्था र सवारी आवतजावतको सम्भाव्यता परीक्षण गरिएको छ। परीक्षणका क्रममा काठमाडौंबाट चितवनतर्फ एउटा ग्यास बुलेटसहित करिब २० वटा र चितवनबाट काठमाडौंतर्फ एउटा भारी सवारीसहित केही हलुका सवारी साधनहरू सफलतापूर्वक सञ्चालन गरिएको सडक विभागले जनाएको छ।

सफल परीक्षण पश्चात् पनि बाँकी रहेका सडक स्तरवृद्धि तथा सुरक्षाका कार्यहरू जारी रहेकाले आज २९ गते पनि कृष्णभीर खण्डमा सवारी साधनहरूको आवागमन पूर्ण रूपमा बन्द रहनेछ।

सडक विभागले तोकिएको मिति भदौ ३१ गते सम्म यस खण्डबाट यात्रा गर्ने सम्पूर्ण यात्रु, चालक तथा यातायात व्यवसायीहरूलाई सम्बन्धित निकायबाट जारी भएका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशनहरू पालना गरी आवश्यक सहयोग पुर्याउन हार्दिक अनुरोध गरेको छ।