उज्यालो नेपाल पार्टीको महासचिवमा धादिङका दिवाकर अर्याल
7 पटक पढिएको
काठमाडौं । युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल ‘उज्यालो नेपाल पार्टी’को महासचिवमा नियुक्त भएका छन् । पार्टीको सचिवालयको पूर्ण बैठकले उनलाई यो जिम्मेवारी दिएको हो । अर्याललाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।
धादिङको ज्वालामुखी गाउँपालिका–४, ढोला निवासी अर्याल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन्। उनले लामो समयदेखि युवा नेतृत्व विकास, सामाजिक अभियान र नीति निर्माणका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएका छन्। उनले २०६८ सालमा ‘यूथ पार्लियामेन्ट नेपाल’ र पछि ‘ग्लोबल यूथ पार्लियामेन्ट’ स्थापना गरी नेपालसहित ८६ भन्दा बढी देशमा युवा अभियान सञ्चालन गरेका छन्।
युवा क्षेत्रमा पुर्याएको योगदानबापत उनलाई नेपाल सरकारबाट ‘समाजसेवा रत्न–२०७९’ र ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८०’ प्रदान गरिएको थियो।
अर्यालसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल पनि केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन्। सुशासन, पारदर्शिता र प्रणालीगत सुधारको एजेन्डा बोकेको उज्यालो नेपाल पार्टीमा अर्यालको महासचिवको नियुक्तिलाई युवा पुस्ताको प्रतिनिधित्व संस्थागत गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।







