आगामी फागुनमै स्थानीय तह निर्वाचन गर्नेगरी निर्वाचन आयोगको तयारी, कानुनी व्यवस्था के छ?
57 पटक पढिएको
काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै आगामी फागुन महिनामा स्थानीय तहको निर्वाचन गर्नेगरी आन्तरिक तयारी तीव्र पारेको छ। वैशाख २०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूको कार्यकाल समाप्त हुनुअघि नै नयाँ निर्वाचन गराउने योजनामा आयोग जुटेको हो।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद २ को दफा १ मा गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि नै निर्वाचन हुनेछ भन्ने स्पष्ट कानुनी प्रावधान रहेको छ। यही कानुनी आधारलाई टेकेर निर्वाचन आयोगले फागुनमै चुनाव गर्ने तयारी थालेको निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले जानकारी दिएका छन्। यद्यपि, नेपालको संविधानको धारा २२५ मा भने स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्षको हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख छ।
यसपटकको निर्वाचनलाई प्रविधिमैत्री बनाउने तयारीमा आयोग जुटेको छ। आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनमा केही जिल्ला तथा निर्वाचन क्षेत्रबाट ‘अन्तरजिल्ला मतदान’ को व्यवस्था सुरु गर्ने तयारी गरेको छ। प्रविधि र बजेटका हिसाबले केही खर्चिलो देखिए पनि डिजिटल प्रणालीलाई अगाडि बढाउन अबका निर्वाचनहरू ई-भोटिङ प्रणालीतर्फ लैजाने आयोगको योजना छ। त्यस्तै, वैदेशिक रोजगारी वा विभिन्नसिलसिलामा विदेशमा रहेका नेपालीहरूका लागि पनि सम्बन्धित देशका दूतावास वा नियोगहरूमार्फत विद्युतीय माध्यमबाट मतदान गराउने सम्भावनाबारे अध्ययन भइरहेको आयोगले जनाएको छ ।







