नेत्रावती डबजोङ गाउँपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्नको लागि आवेदन
9 पटक पढिएको
धादिङ, ३ असोज । नेत्रावती डबजोङ गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक लेखापरीक्षणका लागि प्रक्रिया अघि बढाएको छ. गाउँपालिकाले एक सूचना जारी गर्दै लेखापरीक्षणको काम गर्नका लागि योग्य फर्म, कम्पनी तथा व्यक्तिहरूबाट आशयपत्र पेस गर्न आह्वान गरेको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार शिक्षा नियमावलीको नियम १३१ बमोजिम आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि इच्छुक पक्षले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गाउँपालिकाको कार्यालयमा रितपूर्वक आशयपत्र पेस गर्नुपर्नेछ. लेखापरीक्षण गर्न चाहने इच्छुक लेखापरीक्षक वा फर्मले शिक्षा, युवा तथा खेलकुद शाखामा स्वयम् उपस्थित भएर आवश्यक कागजातहरू बुझाउनुपर्ने व्यवस्था मिलाइएको छ ।
आशयपत्र पेस गर्दा प्रचलित नियमअनुसार दर्ता भएको कम्पनी वा फर्मको लेखापरीक्षण दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०८२/०८३ को कर चुक्ताको प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि, स्थायी लेखा नम्बर र लेखापरीक्षकको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ. यसैगरी, व्यक्तिगत हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा गाउँपालिकाले तोकेको दररेटमा लेखापरीक्षण गर्न सक्ने प्रतिबद्धतासहितको निवेदन पनि पेस गर्नुपर्नेछ।
उक्त प्रयोजनका लागि आगामी असोज १५ गते कार्यालय समयभित्र आवेदन आइसक्नुपर्नेछ. त्यसका लागि दरखास्त दस्तुरबापत रु. ५००१ गाउँपालिकाको राजश्व शाखामा रसिद काटेर वा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ५१३०१००३०१०१०००२ मा जम्मा गरी त्यसको भौचर पेस गर्नुपर्नेछ. निर्धारित मिति तथा समयभित्र नआएका वा रीत नपुगेका कागजातहरूउपर कुनै पनि कारबाही नहुने गाउँपालिकाले स्पष्ट पारेको छ ।








