शव नभेटिएपछि २४ दिनमा कुशको शव बनाएर गरियो काले पण्डितको अन्त्येष्टि, शोकमग्न बन्यो पण्डितपौवा
49 पटक पढिएको
धादिङ- धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९, पण्डितपौवाका काले पण्डित भनिने देवकुमार पण्डितको २४ दिनको लामो प्रतीक्षा र अथक खोजीपछि अन्ततः हिन्दू धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढी पछि सम्पर्कविहीन बन्नुभएका पण्डितको खोजीका लागि परिवार, आफन्त र शुभचिन्तकले हर-सम्भव प्रयास गरेका थिए। दिनदिनै बढेको पीडा र अनिश्चितताबीच कतैबाट पनि जीवित वा मृत अवस्थाको सुइँको नपाएपछि परिवारले आखिरमा मुटुमा ढुङ्गा राखेर शास्त्रअनुसार कुशको प्रतिनिधि शव बनाएर अन्तिम संस्कार गर्न बाध्य भएका हुन्। आजसम्म पनि उनी सम्पर्कमा नआएका कारण परिवारको निर्णयमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो।
असोज ३ गते शनिवार स्थानीय सोप्याङ्ग खोलाको किनारमा हिन्दू संस्कार र परम्पराअनुसार उहाँको अन्तिम संस्कार सम्पन्न हुँदा उपस्थित आफन्त र गाउँलेका आँखाहरू रसाएका थिए। स्वर्गीय पण्डितका दुई नाबालक छोरा र शोकसन्तप्त परिवारको यो कहालीलाग्दो पीडाले यतिबेला सिङ्गो पण्डितपौवा गाउँलाई नै शोकमग्न बनाएको छ।

रसुवास्थित त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा कार्यरत पण्डितको अचानकको यस विछोडले परिवार मात्र नभई सम्पूर्ण सहकर्मी र समाज समेत स्तव्ध भएको छ । अनुहारसमेत हेर्न नपाएर कुशको शवमा दागबत्ती दिनुपरेको यो मार्मिक दृश्यले जो कोहीको पनि मन रुवाउँछ। प्रकृतिले परिवारको खुसी खोसे पनि स्वर्गीय पण्डितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको आफन्त स्वतन्त्र पण्डितले जानकारी दिएका छन्।







