पार्टीभित्रै विश्वास गुमाउँदै गएका सिद्धलेक अध्यक्ष खतिवडा कांग्रेसभित्र एक्लिँदै,वडा अधिवेशनमा देखिएनन्

302 पटक पढिएको

५ आश्विन २०८३, सोमबार १८:०९ सम्पादक: धादिङ न्यूज

धादिङ – आफूलाई मत दिने आम नागरिक, टिकट सिफारिस गर्ने दल र चुनावमा साथ दिएका साथीभाइलाई दुःख दिँदै विभिन्न आरोप लगाउने, प्रहरी प्रशासन लगाएर मुद्दामामिलामा फसाउने र अनावश्यक सास्ती दिएको भन्दै पार्टीभित्र तीव्र आलोचना भोगिरहेका नेपाली कांग्रेसबाट निर्वाचित सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा पार्टीको महाधिवेशन प्रक्रियाअन्तर्गत भएको वडा भेला बाटै वाहिरिएका छन् । पार्टीको नीति, विधि र सिद्धान्तभन्दा निजी स्वार्थलाई प्राथमिकता दिएको भन्दै पटक-पटक विवादित बन्दै आएका खतिवडा प्रतिस्पर्धामा जाने साहस जुटाउन नसक्दा वडा अधिवेशनमै अनुपस्थित भएका हुन् ।

स्रोतका अनुसार, आइतबार साँझ सदरमुकाम धादिङबेसी पुगी खतिवडाले जिल्लाका नेताहरूलाई भेटेर महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गरिदिन आग्रह गरेका थिए ।  तर, नेताहरूले उनको  आग्रहलाई प्राथमिकता नदिएपछि  सोमबार भएको  काँग्रेसको वडा अधिबेशनमा खतिवडा अनुपस्थित भएका हुन् ।  अघिल्लो महाधिवेशनमा नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) सँग महाधिबेशन प्रतिनिधिमा पराजित भएका खतिवडा यसपटक पुनः पराजयको त्रासले प्रतिस्पर्धाबाट पछि हटेको पार्टीका एक जिल्ला नेताले बताए।

पछिल्लो समय अध्यक्ष खतिवडाको आन्तरिक राजनीतिक गतिविधि र कार्यशैलीलाई लिएर पार्टी पंक्तिभित्रै ठूलो असन्तुष्टि चुलिएको छ। गत असार ३१ गते आफ्नै पार्टीका नेता विशाल गिरीसँग कांग्रेसको बैठक कक्षभित्रै झगडा भएपछि खतिवडाले गिरीविरुद्ध प्रहरीमा उजुरी दिएर थुनाएका थिए। सिद्धलेक वडा नम्बर ७ का बासिन्दा नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर–१ का क्षेत्रीय प्रतिनिधि तथा नेपाल तरुण दल क्षेत्र नम्बर–१ का सभापति गिरी  गिरी १६ दिन प्रहरी हिरासतमा बसेर पछि धरौटीमा छुटेका थिए। खतिवडा पनि सोही वडाका वासिन्दा हुन् ।

गिरी प्रहरी हिरासतमै रहेका बेला गृह मन्त्रीलाई पत्र लेखेर जसरी पनि मुद्धा चलाइराख्न र थुनामै राख्न खतिवडाले दबाब दिएको पत्र बाहिरिएपछि उनी थप विवादित बन्न पुगेका थिए । आफ्नै पार्टीका नेता-कार्यकर्तामाथि दमन गरेको र गलत काम गरेको भन्दै आलोचना बढेपछि आफ्नो कमजोरी लुकाउन खतिवडा शेरबहादुर देउवाले बोलाएको राष्ट्रिय भेलामा सहभागी हुन पुगेको कार्यकर्ताहरूको भनाइ छ।

यसैबीच, केही दिनअघि प्रधानमन्त्री कार्यालयमा पुगी प्रधानमन्त्रीसँगको बैठकमा सहभागी भएर फर्किएपछि प्रधानमन्त्रीको प्रशंसा गर्दै विभिन्न मिडियामा अन्तर्वाता दिएपछि खतिवडा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्न लागेको हो कि भन्ने आशंका समेत गरिएको थियो। यद्यपि, देउवा पक्षले बोलाएको राष्ट्रिय भेलामा सहभागी हुनुका साथै जिल्ला भेला आयोजक समितिमा समेत भएका कारण खतिवडाले नेपाली काग्रेसको मुलधार छाडेको अनुमान गरिएको छ ।  खतिवडाको यस्तै अस्थिर राजनीतिक चलखेल र दङ्गाधम्कीपूर्ण शैलीका कारण उनले पछिल्लो समय पार्टी पंक्तिभित्र विश्वास र जनआधार दुवै गुमाउँदै गएका छन् ।