धादिङमा कांग्रेस वडा अधिवेशन सम्पन्न: २९४४ प्रतिनिधि चयन, असोज ७ गते पालिका अधिवेशन हुँदै

65 पटक पढिएको

६ आश्विन २०८३, मंगलवार ०६:३५ सम्पादक: धादिङ न्यूज

धादिङबेसी – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत धादिङ जिल्लाका १०४ वटै वडामा वडा अधिवेशन  सम्पन्न भएको छ। वडा अधिवेशन सम्पन्न हुनुका साथै  प्रतिनिधिहरूको आधिकारिक संख्यात्मक विवरण पनि सार्वजनिक भएको छ, जसले जिल्लामा कांग्रेसको सांगठनिक गतिविधि र आन्तरिक चुनावी सरगर्मी तीव्र बनाएको छ।

कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाका अनुसार ज्वालामुखि, त्रिपुरासुन्दरी र नीलकण्ठका एक–एक ठाउँमा छलफल जारी रहेको बाहेक अन्य सबै वडाहरूमा सहमतिमै वडा समिति चयन भइसकेको छ। वडा अधिवेशन सम्पन्न भएसँगै धादिङमा कांग्रेस विभाजित नभएको र एकताबद्ध रहेको सन्देश गएको दाबी उनले गरेका छन्।

सार्वजनिक विवरण अनुसार धादिङ जिल्लाभरिबाट कुल २,८४० जना क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित भएका छन्। यसका साथै १०४ वटै वडाका वडा सभापतिहरू पदेन प्रतिनिधि सहित जिल्लाबाट जम्मा २,९४४ जना प्रतिनिधिहरू १५औं महाधिवेशन प्रकृयामा  सहभागी बन्न योग्य भएका छन्। क्षेत्रगत विवरण अनुसार, प्रतिनिधि सभा क्षेत्र नं. १, धादिङबाट १,२४६ जना क्षेत्रीय प्रतिनिधि र ५३ वटा वडाका वडा सभापति (पदेन प्रतिनिधि) ५३ जना गरी जम्मा १,२९९ जना प्रतिनिधि रहनेछन्। त्यसैगरी, प्रतिनिधि सभा क्षेत्र नं. २, धादिङबाट १,५९४ जना क्षेत्रीय प्रतिनिधि र ५१ वटा वडाका वडा सभापति (पदेन प्रतिनिधि) ५१ जना गरी जम्मा १,६४५ जना प्रतिनिधि चयन भएका छन्।

बाढी प्रभावित जिल्लाका लागि तय गरिएको संशोधित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाइएको कांग्रेस धादिङले जनाएको छ। जसअनुसार असोज ७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन र असोज १० गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने औपचारिक तयारी रहेको छ। जिल्ला कार्यसमितिको आधिकारिक सूचनाले यही कार्यतालिका तय गरेको छ।

नयाँ नेतृत्व चयन भएलगत्तै सहसचिव तिमल्सिनाले वडा कार्यसमितिका सभापति, पदाधिकारी, सदस्यहरू तथा क्षेत्रीय प्रतिनिधिहरूलाई शुभकामना सन्देशमार्फत हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले यो पद केवल निर्वाचनबाट प्राप्त जिम्मेवारी मात्र नभई पार्टी र संगठनको विचारप्रति समर्पित हुने महत्वपूर्ण अवसर भएको बताएका छन्। वडा तहबाटै संगठनलाई चलायमान बनाउँदै कांग्रेसलाई जनताको सुख–दुःखसँग जोड्ने र कार्यकर्ताको भावनाको सम्मान गर्ने दायित्व नयाँ नेतृत्वमा आएको उनको भनाइ छ।

राजनीतिक प्रक्रियामा प्रतिस्पर्धा स्वाभाविक भए पनि प्रतिस्पर्धापछि एकता, मतभेदपछि सहकार्य र नेतृत्वसँगै संगठन निर्माण नै सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले निर्वाचनका बेलाको प्रतिस्पर्धालाई थाती राखेर अब सबै एउटै संगठनका सहयात्री बनेर अघि बढ्न आह्वान गरेका छन्। नयाँ नेतृत्वको आगमनसँगै अग्रजहरूको अनुभवको सम्मान र युवाहरूको सक्रिय सहभागिताबाट धादिङ कांग्रेस अझ बढी संगठित, गतिशील तथा जनमुखी बन्ने विश्वास व्यक्त गरिएको छ।