विशेष मौसम बुलेटिन जारी: असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अति भारी वर्षाको चेतावनी
33 पटक पढिएको
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले एक विशेष मौसम बुलेटिन जारी गर्दै आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न भू-भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित धेरै भारीदेखि अति धेरै भारीसम्म वर्षा हुन सक्नेछ।
साथै, मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका अधिकांश स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको अनुमान गरिएको छ।
उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र हाल मध्य बङ्गालको खाडी आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ। यसको प्रभावस्वरूप आगामी बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमिक रूपमा बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अति भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको उच्च जोखिम रहनेछ। साथै, सहरी तथा तराई क्षेत्रमा डुबानको समस्या आउन सक्ने, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने देखिन्छ। यसबाट बच्न आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई विभागले अनुरोध गरेको छ।
यसपटक केही स्थानबाट धानबाली भित्र्याउने बेला भएको भन्दै मौसमसम्बन्धी जिज्ञासा आएकाले सम्बन्धित कृषि विज्ञको सल्लाह र परामर्शमा मात्र आवश्यक कृषि कार्य गर्नसमेत अनुरोध गरिएको छ। यसका अतिरिक्त, यस प्रणालीको प्रभावले देशको हिमाली भू-भागमा भारी हिमपातसमेत हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।







