भारी वर्षाको पूर्वानुमान: धादिङका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
88 पटक पढिएको
धादिङ – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै धादिङ जिल्लाका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
नेपाल मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म बागमती प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय, धादिङले सबैमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबान हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन भनिएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले यही असोज ८ देखि १२ गतेसम्म पानी पर्ने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सबै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनु भयो । “विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहलाई पनि तयारी अवस्थामा रहन पत्राचार गरिएको छ”, प्रजिअ गौतमले जानकारी दिनु भयो ।
अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नै परेमा आवश्यक सतर्कता अपनाउन तथा नदी, खोला र पहिरो जोखिमयुक्त क्षेत्रका बासिन्दालाई बढी चनाखो भई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्लास्थित सुरक्षा निकाय र स्थानीय तहलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। आपत्कालीन अवस्थामा सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिनेछ।धादिङमा १३ स्थानीय तह छन् । ।







