कृष्णभीरमा फेरि पहिरो, यातायात अवरुद्ध

3 पटक पढिएको

९ आश्विन २०८३, शुक्रबार ०६:५३ सम्पादक: धादिङ न्यूज

धादिङ । पृथ्वीराज मार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेको छ। लगातार परेको वर्षासँगै बिहीबार राति साढे १० बजेतिर सो क्षेत्रमा माथिबाट ठूलो ढुङ्गासहितको पहिरो खस्दा कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

भोटेकोसीको बाढीका कारण सडक भासिएपछि सडक डाइभर्सन निर्माण गरिएको छेउमा पहिरोसहितको ढुङ्गा खसेको स्थानीय सुदीप गौलीले बताए। ‘ठूला-ठूला ढुङ्गा झरेका छन्, अहिले सवारी आवागमन गर्न सक्ने अवस्था छैन,’ उनले सुनाए।

कृष्णभीरमा पानी जमिनभित्र नछिरोस् भनेर मंगलबार प्लास्टिक हालिएको भए पनि सो स्थानको छेउमा पहिरो खसेको हो। स्थानीय प्रशासनले यो सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको छ। रातिको समय र पहिरोको थप जोखिम भएका कारण अहिले पहिरो पन्छाउने काम सुरु भएको छैन।