अविरल वर्षापछिको बाढीपहिरोले २१ जनाको ज्यान गयो, पाँच बेपत्ता

26 पटक पढिएको

१२ आश्विन २०८३, सोमबार २०:१३ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १२ असोज । देशभर लगातार भएको भारी वर्षा, बाढी र पहिरोका घटनामा परी २१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का यी घटनाहरूमा ५ जना घाइते भएका छन् भने अझै ५ जना बेपत्ता रहेका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतले दिएको जानकारीअनुसार बङ्गालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो। वर्षाजन्य विपद्अन्तर्गत बाढीका ५३ घटनामा ४ जना, पहिरोका २५६ घटनामा १४ जना र अविरल वर्षाका ११७ घटनामा ३ जनाको मृत्यु भएको छ। पहिरोका कारण घाइते भएका ४ र बेपत्ता ५ जना रहेका छन् भने अविरल वर्षाका कारण १ जना घाइते भएका छन्।

बाढी र पहिरोका कारण देशभर १४३ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ वटा घरमा आंशिक क्षति पुगेको छ। यस विपद्बाट ७४७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ। जोखिममा परेका विभिन्न जिल्लाबाट करिब दुई हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

निरन्तरको वर्षाका कारण देशभरका १८६ वटा वर्षामापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको छ। सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्तापूर्व) को डेढगाउँमा ५४४.२ मिलिमिटर वर्षा मापन भएको छ। यसैगरी, कास्कीको पञ्चासेमा ५००.२ र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

वर्षाको समयमा विभिन्न स्थानमा करिब ९ हजार पर्यटक तथा पदयात्रीहरू यात्रारत रहेको प्राधिकरणको भनाइ छ। जाजरकोट, म्याग्दी र बागलुङलगायतका जिल्लामा बाढी तथा पहिरोमा फसेका व्यक्तिहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएकाहरूका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहम्रफत आवश्यक बन्दोबस्ती तथा राहत सामग्रीको व्यवस्था गरिएको छ।

भारी वर्षाको पूर्वानुमानसँगै प्राधिकरणले पूर्वतयारी स्वरूप बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सचेਤ गराउन ८ लाख १४ हजार एसएमएस प्रवाह गरेको थियो। साथै, पर्वतारोहण तथा पदयात्रामा रहेका पर्यटकहरूलाई अङ्ग्रेजी भाषामैसमेत सतर्कता सूचना जारी गरिएको थियो। केन्द्रीय मनसुन प्रतिकार्य कमान्ड पोष्टको दैनिक बैठक बसेर अवस्थाको समीक्षा गरिनुका साथै जोखिमयुक्त क्षेत्रमा सवारी आवागमनमा रोक लगाउने र स्थानीय तहमार्फत विद्यालयहरूमा बिदा दिने कामसमेत गरिएको थियो।