भोटेकोसी बाढीपीडित गल्छी गाउँपालिकाका दलित समुदायलाई राहत सामग्री वितरण
115 पटक पढिएको
धादिङ, १७ असोज – भोटेकोसी बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिकाका दलित समुदायका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कोटीको विशेष पहल, रोटरी क्लब अफ रुद्रमती काठमाडौं र दिदी फाउन्डेसनको सहकार्यमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।
विपदको यस कठिन घड़ीमा बाढीबाट विस्थापित तथा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्य तथा लत्ताकपडा लगायतका राहत सामग्री उपलब्ध गराएर उनीहरूको जीवनमा केही राहत पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन्।
स्थानीय बाढीपीडित, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको यस कार्यक्रममार्फत संकटको बेलामा सामाजिक संघ-संस्थाहरूले पुर्याएको सहयोगप्रति पीडित परिवारले खुसी व्यक्त गर्दै आभार प्रकट गरेका छन्।







