रिम्स नेपालको २९औँ साधारण सभा तथा अधिवेशन सम्पन्न, शिवप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ समिति चयन
90 पटक पढिएको
धादिङ, १७ असोज । स्रोत पहिचान तथा व्यवस्थापन समाज–नेपाल (रिम्स नेपाल) को २९औँ साधारण सभा तथा १४औँ अधिवेशन सम्पन्न भएको छ। गल्छी गाउँपालिका–६ स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सभाले आगामी तीन वर्षका लागि शिवप्रसाद अधिकारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
साधारण सभाको अवसरमा संस्थाले हालसम्म गरेका प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदनमाथि विस्तृत छलफल तथा समीक्षा गर्दै आगामी दिनमा संस्थाले गर्ने कार्यक्रमहरूको बारेमा समेत छलफल भएको थियो। अधिवेशनबाट चयन भएको नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रमिला पण्डित, सचिवमा चेतनाथ त्रिपाठी र कोषाध्यक्षमा शिला श्रेष्ठ चयन हुनुभएको छ। यसैगरी, समितिको सदस्यहरूमा निर्मला पाठक, रामबहादुर मिजार र रमेश उप्रेती चयन हुनुभएको संस्थाले जनाएको छ।
साधारण सभा तथा अधिवेशनले मुख्य कार्यसमितिसँगै अन्य उपसमितिहरू पनि गठन गरेको छ। जसअनुसार रामलाल श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय लेखा तथा अनुगमन समिति र गोपाल गैरेको संयोजकत्वमा ३ सदस्यीय कार्यक्रम विकास समिति गठन गरिएको छ। धादिङ जिल्लामा दर्ता भई लामो समयदेखि कृयाशील यस संस्थाले स्थानीय समुदायको क्षमता विकास, प्राकृतिक स्रोतको पहिचान तथा व्यवस्थापनलगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।







