भोटेकोशी बाढीमा ज्यान गुमाएका धादिङका शिक्षक परिवारलाई नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा राहत तथा श्रद्धाञ्जली

60 पटक पढिएको

१८ आश्विन २०८३, आईतवार १९:५८ सम्पादक: धादिङ न्यूज

धादिङ, १८  असोज – भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर अकालमै ज्यान गुमाएका धादिङ जिल्लाका शिक्षक तथा पूर्व शिक्षकका शोक सन्तप्त परिवारजनलाई नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय समितिले राहत सहयोग वितरण गर्नुका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

संगठनको तर्फबाट दिवंगत हुनुहुने शिक्षकहरू ठाकुर प्रसाद लम्साल, शिवहरि लम्साल, जानुका खनाल लम्साल, इन्दिरा लम्साल तथा पूर्व शिक्षक नारायण प्रसाद लम्सालको निवासमै पुगेर उहाँहरूका परिवारजनलाई भेटघाट गरिएको हो। सो अवसरमा संगठनले पीडित प्रतिपरिवार नगद रु. १०,००० (दस हजार रुपैयाँ) राहत रकम प्रदान गर्नुका साथै भावपूर्ण श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेको छ।

सहयोग हस्तान्तरण तथा समवेदना प्रकट गर्ने कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितिका महासचिव पूर्ण गिरी, केन्द्रीय समिति सदस्य ठान प्रसाद बसौला, केन्द्रीय लेखा आयोगका अध्यक्ष राम बहादुर खतिवडा, जिल्ला अध्यक्ष हरि बहादुर सिलवाललगायत जिल्ला समितिका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी प्रतिनिधिमण्डलले दिवंगत शिक्षकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकको यस कठिन घडीमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

यसैबीच, नीलकण्ठ नगरपालिका–३ का तुलसी प्रसाद तिमिल्सिना / इश्वरी तिमिल्सिना, सिद्धलेकका हरि प्रसाद सिलवाल, घनश्याम भट्ट र सन्तोष श्रेष्ठको परिवारलाई पनि यो राहत उपलब्ध गराइने नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष हरिबहादुर सिलवालले जानकारी दिनुभएको छ।