धादिङ कांग्रेस महाधिवेशन : सत्तामा रहेका पालिका प्रमुखदेखि दिग्गज नेताहरू पराजित

67 पटक पढिएको

१७ आश्विन २०८३, शनिबार २१:५४ सम्पादक: धादिङ न्यूज

धादिङ, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्लामा सम्पन्न आन्तरिक निर्वाचनमा जनताबाट निर्वाचित भएर स्थानीय सरकारठूको नेतृत्व सम्हालिरहेका बाहालवाला प्रमुखहरूदेखि लामो समयदेखि पार्टीमा प्रभाव जमाउँदै आएका दिग्गज नेताहरूले नै पराजय व्यहोर्नुपरेको छ।

स्मरण रहोस्, २०७९ को स्थानीय तह निर्वाचनमा धादिङका १३ स्थानीय तहमध्ये कांग्रेसले गंगाजमुना, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, नीलकण्ठ र सिद्धलेक गरी ५ वटा पालिका प्रमुखमा जित हासिल गरेको थियो। ती विजयी पालिकाहरूमध्ये सिद्धलेकका प्रमुख परशुराम खतिवडा कांग्रेसको महाधिवेशन प्रक्रियामै सहभागी नभई पार्टीबाट बाहिरिसकेका छन् भने बाँकी पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूले यसपटकको आन्तरिक निर्वाचनमा धक्का खानुपरेको छ। खुल्लातर्फ १० जना विजयी हुने महाधिवेशन प्रतिनिधि पदका लागि २० जनाको उम्मेदवारी परेको थियो। यस प्रतिस्पर्धामा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै ५५८ मतसहित चौधौँ र त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती ४५१ मतसहित पन्ध्रौँ स्थानमा सीमित हुन पुगे। यस्तै, अपाङ्गता क्लस्टरबाट उम्मेदवारी दिएका नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाललाई युवा नेता विनोद रिजालले १५१ मतान्तरले पराजित गराए। निर्वाचनमा कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका नेता रमेश धमलाले सर्वाधिक १२९७ मत ल्याएर पहिलो स्थान सुरक्षित गर्दा नेता सेतेमान तामाङले ७२३ मतसहित दशौँ नम्बरमा बाजी मारे।

निर्वाचनको यो परिणामले केवल स्थानीय सरकारका प्रमुखहरूलाई मात्र नभई दशकौँदेखि पार्टीको राजनीतिमा दबदबा राख्दै आएका पुराना अनुहारहरूलाई पनि पाखा लगाएको छ। लामो राजनीतिक विरासत बोकेका ‘राइटर नारायण’ का रूपमा चर्चित नारायणकुमार श्रेष्ठ, समानुपातिक खस आर्यतर्फका चर्चित नेता धादिङका पुराना काँग्रेस नेता बाशुदेव तिमल्सिना,  शिवराम भण्डारी, ज्वालामुखीका पूर्वअध्यक्ष विनोदराज तिमल्सिना लगायतका नेताहरू पराजित भएका छन्। आदिवासी जनजाति खुल्लातर्फ लामो विरासत बनाएका नेता नारायणकुमार श्रेष्ठको प्रभाव ‘डाँडाघरे’ का रूपमा परिचित नयाँ उम्मेदवार नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ( गत चुनावमा स्वतन्त्र उम्मेदवार) राजकुमार श्रेष्ठ को प्रवेशले भत्किएको राजनीतिक वृत्तमा चर्चा छ।

यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नं २ अन्तर्गत विभिन्न क्लस्टरबाट विजयी हुने प्रतिनिधिहरूमा महिलातर्फ रिता थापा मगर, कल्पना अधिकारी, यो माया तामाङ र लक्ष्मी गिरी विजयी भएका छन् भने खुल्लातर्फ रमेश प्रसाद धमला, भीम प्रसाद ढुङ्गाना, राकेश धमला, दिलमान पाख्रिन तामाङ, रामनाथ अधिकारी, ईश्वर अधिकारी, दीपक कोइराला, झंक नारायण श्रेष्ठ, विकास श्रेष्ठ र सेतेमान तामाङ विजयी भएका छन्। यसैगरी श्रमिकतर्फ तिलक प्रसाद ढुङ्गाना, पेशागत विषयविज्ञमा कुल बहादुर गुरुङ, युवा महिला ३५ वर्ष मुनिमा सरिता तामाङ, युवा खुल्लामा गोपीकृष्ण भण्डारी र अश्विन दुवाडी, अपाङ्गतामा बिनोद रिजाल, अल्पसंख्यकमा डेभिड घले, प्रजातन्त्र सेनानी तथा शहीद परिवारतर्फ चिजकुमार तामाङ, समानुपातिक दलितमा राम्री नेपाली, समानुपातिक आदिवासी जनजाति महिलामा सिता चोदेन गुरुङ, सरिता राना मगर र शान्त कुमारी तामाङ विजयी भएका छन्। साथै, समानुपातिक आदिवासी जनजाति खुल्लातर्फ राजकुमार श्रेष्ठ, धनबहादुर गुरुङ र योगबहादुर तामाङ तथा समानुपातिक खस आर्य खुल्लातर्फ रामप्रसाद अधिकारी र देवीप्रसाद कोइराला विजयी भएका छन्। क्षेत्रीय कार्यसमितितर्फ सभापतिमा राजन बुर्लाकोटी, सचिवमा सरोज पाण्डे र सहसचिव खुल्लामा नवीन कुमार श्रेष्ठ विजयी भएका छन् भने प्रदेश २ (क) को सदस्यमा भीम बहादुर ढकाल र सुर्य बहादुर कुमाल निर्वाचित भएका छन्।

यसका साथै, धादिङ क्षेत्र नं १ बाट पनि विभिन्न क्लस्टरमा महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत तथा निर्वाचनमार्फत चयन भएका छन्। क्षेत्र नं १ बाट अल्पसंख्यकमा सानु राम घले, दलितमा रमेश बिक, प्रजातान्त्रिक सेनानी सहिद परिवारमा रामहरी कँडेल, समानुपातिक दलितमा शान्ता सुनार तथा आदिवासी जनजाति महिलातर्फ सीता थापा मगर, सुशीला थापा मगर र कृपा श्रेष्ठ चयन भएका छन्। त्यस्तै, आदिवासी जनजाति खुल्लातर्फ जीवनसिंह तामाङ, गोपीलाल श्रेष्ठ र दीपक तामाङ, खस आर्य महिलामा देवीकुमारी कार्की, खस आर्य खुल्लामा भरत भट्ट र पुरुषोत्तम रेग्मी, मुस्लिममा शेर बकस मिया, खुल्ला महिलातर्फ उर्मिला थपलिया, उर्मिला कँडेल, कविता इटनी र ज्ञानु अधिकारी चयन भएका छन्। खुल्लातर्फ मधुकुमार श्रेष्ठ, कृष्ण रिजाल, अर्जुनप्रसाद उप्रेती, प्रभात किरण सुवेदी, दीपकान्त थपलिया, दीपक कार्की, राधाकृष्ण भण्डारी, रन्जित पाठक, शरद अधिकारी र लक्ष्मण अर्याल महाधिवेशन प्रतिनिधि बनेका छन्। यसैगरी क्षेत्र नं १ बाट श्रमिकमा शिव श्रेष्ठ, पेशागत विषय विज्ञमा अर्जुनप्रसाद न्यौपाने, युवा महिलामा लक्ष्मी सिलवाल, युवा खुल्लामा गोकर्ण अर्याल र मनिस उप्रेती तथा अपाङ्गताबाट बाबु कृष्ण सापकोटा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

यस अधिवेशनका क्रममा जिल्लाका विभिन्न पालिका तहमा पनि रोचक राजनीतिक घटनाक्रमहरू देखिएका छन्। नेपाली कांग्रेस गल्छीका सभापति तथा गल्छी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष दीपक कार्की महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् भने सोही गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारी पार्टीको पालिका सभापति पदका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन्। तर, विभिन्न पदहरूमा सहमति जुट्न नसक्दा गल्छी गाउँपालिका समितिको निर्वाचन भने हाललाई स्थगित भएको छ। यसअघि नै सिद्धलेक गाउँपालिकाका पार्टी सभापति रामशरण गिरी निर्धारित निर्वाचन प्रक्रियामा सहभागी नभई प्रदेश प्रतिनिधि पदबाट राजीनामा दिएर पार्टीबाट बाहिरिसकेका छन्। अर्कातर्फ, बागमती प्रदेश सभाका सदस्य मधु कुमार श्रेष्ठ र प्रतिनिधि सभा सदस्य उर्मिला थपलिया समेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सफल भएका छन्।

स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरू, लामो समयदेखि पार्टीमा सक्रिय रहेका हस्तीहरू तथा केही स्थानमा देखिएको असन्तुष्टि र स्थगित निर्वाचन प्रक्रियाले धादिङको कांग्रेस वृत्तमा गम्भीर समीक्षाको विषय बनाएको छ। यो समग्र परिणामले परम्परागत नेतृत्वप्रतिको मोहभङ्ग भएको र पार्टी नेतृत्वले कार्यकर्ता तथा जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने स्पष्ट संकेत गरेको राजनीतिक विश्लेषकहरूको ठहर छ।