फुर्केखोलाको वैकल्पिक सडक मर्मतसम्भारका लागि आज पनि बन्द हुने
52 पटक पढिएको
धादिङ, १८ आश्विन । धादिङ सदरमुकाम धादिङबेंसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको वैकल्पिक सडक थप मर्मतसम्भारका लागि आइतबार पनि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मर्मत कार्य सम्पन्न नभएकाले यातायात आवागमनमा रोक लगाइएको जनाएको छ।
कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा थप मर्मतकार्य गर्नुपर्ने भएकाले मिति २०८३ साल आश्विन १८ गते आइतबार बिहान ०९:०० बजेदेखि बेलुका ०५:०० बजेसम्म उक्त मार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ फुर्केखोलामा रहेको मुख्य पक्की पुल बगाएपछि यो सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आइएको थियो। यसअघि शनिबार पनि सोही सडकखण्ड मर्मतका लागि ५ घण्टा बन्द गरिएको थियो।
प्रशासनले तोकिएको अवधिमा यात्रा गर्दा धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न सम्पूर्ण यात्रु तथा यातायात व्यवसायीहरूलाई अनुरोध गरेको छ।







