ढुङ्गाअड्डामा ट्रिपरको ठक्करबाट धादिङ ज्वालामुखीका सुमन पुलामीको निधन
274 पटक पढिएको
धादिङ- कलंकी–थानकोट सडकखण्डको ढुङ्गाअड्डा ओरालोमा शनिबार राति भएको सवारी दुर्घटनामा परि धादिङका एक युवाको ज्यान गएको छ।
शनिबार राति करिब साढे ९ बजे कलंकीतर्फ जाँदै गरेको बा प्र ०३ ०१ क १११३ नम्बरको ट्रिपरले बा ०२ ००२ प ०२९० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक, धादिङ ज्वालामुखीका २४ वर्षीय सुमन पुलामीको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सोही मोटरसाइकलको पछाडि सवार अर्का एक युवाको भने महाकालस्थानस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ट्रिपरका सञ्चालक हालसम्म सम्पर्कमा नआएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। सञ्चालक तत्काल पीडित पक्षको सम्पर्कमा आएर जिम्मेवारी लिनुपर्ने माग गर्दै उनीहरूले पोस्टमार्टमका लागि समेत सहमति जनाएका छैनन्। जसकारण मृतक पुलामीको शव हाल सहिद मेमोरियल अस्पतालमै राखिएको छ।
घटनाको खबर पाएलगत्तै प्रहरीले दुर्घटनामा संलग्न ट्रिपर र मोटरसाइकल दुवै सवारीसाधनलाई नियन्त्रणमा लिइसकेको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







